गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २० गते । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि सूचीकृत गरिएका सदस्यतामा अदिबासी, मधेसी र दलित सदस्यहरुलाई छुटाइएको भन्दै तीन संस्थाका प्रमुखले आपत्ति जनाएका छन् । आइतबार तीन संस्थाका पदाधिकारीले सदस्यता विभेदरहित तरिकाबाट टुंगो लगाउन माग गरेका छन् ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), मधेसी पत्रकार समाज, नेपाल र राष्ट्रिय दलित पत्रकार संघ नेपालले आफ्नो संयौं सदस्यहरुको नाम नियतबस सदस्यता सूचीबाट काटिएको भन्दै महासंघप्रति रोश प्रकट गरेका छन् । कतिपय क्रियाशील पत्रकार सदस्यहरुलाई नेपाल पत्रकार महासंघको जिल्ला शाखाबाट सिफारिस नै नगरिएको, सिफारिस गरिएका पत्रकारको नाम केन्द्रबाट हटाइएको ती संस्थाका पदाधिकारीको आरोप छ ।
समावेशीता र पहिचान पक्षधर छुटेका मापदण्ड पुगेका पत्रकार सदस्यहरुको नामसूची अद्यावधिक गर्न माग गर्दै तीन संस्थाले महासंघसँग आग्रह गरेका छन् । आफ्नो माग सुनुवाई नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत ती संस्थाले दिएका छन् । फोनिजको तर्फबाट अध्यक्ष गजुरधन राई, मधेसी पत्रकार समाजको तर्फबाट अध्यक्ष मोहन सिंह र दलित पत्रकार संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले हस्ताक्षर गर्नुभएको छ ।