केदार तिमल्सिना
बनेपा, जेठ २० गते । काभ्रे उद्योग वाणिज्य सङ्घको ४२ औँ साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागि प्रताप बैद्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार बिहान सम्पन्न अधिवेशनले सङ्घको बरिष्ठ उपाध्यक्षमा रविन्द्र बैदार, उपाध्यक्षमा सुरेशभक्त भोछिभोया, उमेशरत्न शाक्य निर्वाचित हुनुभएको हो ।
सङ्घको महासचिवमा रजित पलाञ्चोके, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा कृष्णलाल श्रेष्ठ, सह–सचिवमा रामकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा श्यामकुमार भालु (श्रेष्ठ) र मुख्य संयोजकमा रवि तौजले निर्वाचित हुनुभएको छ ।
सङ्घको खुल्ला कार्यसमिति सदस्यहरुमा हरिचन्द्र अधिकारी, निर्दोष पलाञ्चोके, रोसन खुप्पा श्रेष्ठ, राजनबहादुर ढकाल, रहदेव पोटे, सजन मानन्धर, रजेन्द्र पसछे, नरेशराज कायस्थ, गौतम मानन्धर, सुमन चौ प्रधान निर्वाचित हुनुभएको हो ।
सङ्घको महिला सदस्यमा पूर्णिमा प्रधानाङ्ग, कमला अवाल र्निविरोध, क्षेत्रगत कार्यसमिति सदस्यतर्फ भगवती श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, एसोसिएट कार्यसमिति सदस्यतर्फ दुर्गालक्ष्मी रञ्जितकार, वस्तुगततर्फ प्रेमबहादुर तामाङ र्निविरोध निर्वाचित हुनुभएको हो ।
सङ्घको नेतृत्वका लागि प्रताप बैद्य, राजन मानन्धरले प्यानलन खडा गरेर र वसन्तनारायण भोछिभोयाले अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । अध्क्षका उम्मेदवार बैद्यले ४८७ मत ल्याएर विजयी हुनुभयो भने बैद्यसँग पराजित मानन्धरले ४५७ मत र भोछिभोयाले ११७ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचनमा दुई प्यानल र स्वतन्त्र गरी ७१ जनाले उम्मेदवारी दर्ता गराउनुभएको थियो । सङ्घको अध्यक्षमा विजयी बैद्यले सबैलाई समेटेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । अरनिको राजमार्ग विस्तारका कारण समस्या उत्पन्न भएकाले सडक विस्तारको काम सम्पन्न नभएसम्म स्थानीय सरकार र सरोकारवालासँग सहकार्य गरेर वैकल्पिक व्यवस्थापनको लागि अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफ्नो कार्यकालमा साना व्यवसायीको सम्बोधन र ठुला व्यवसायीहरुको संरक्षण कसरी गर्ने भन्ने विषयमा नीति लिएर युवा वर्गलाई विदेश पलायन हुनबाट रोक्ने योजना अघि बढाउने बताउनुभयो ।
उहाँले युवाहरुका लागि रोजगारी सृजनाका विभिन्न तालिमहरु सञ्चालन गरिने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष बैद्यले बाँझो कृषि भूमिको सदुपयोग गर्नका लागि युवाहरुलाई कृषि तालिमहरु सञ्चालन गरिने बताउनुभयो ।