प्रेम अधिकारी 
पशुपतिनगर (इलाम) वैशाख १२ गते। स्थानीय तहको निर्वाचनका लागि इलामका १० वटा पालिकामा उत्साहजनक सोमबार मनोनयन दर्ता भएको छ। 
गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) माओवादी केन्द्र, जनता समाजवादीसहित नेकपा एकीकृत लगायतका दलले १० वटै पालिकामा उम्मेदवारी दर्ता गराएका हुन्।
दलले उम्मेद्वारी दर्ता गर्दैगर्दा इलाम जिल्लाका अधिकांश स्थान र पदमा २०७४ सालको स्थानीय निर्वाचनमा विजयी र पराजित उम्मेद्वार नै दोहोरिएका छन्।
नेकपा एमालेले देउमाई नगरपालिकामा ०७४ का विजयी सूर्य पोखरेल र पविमाया राईलाई उम्मेद्वार बनाएको छ। देउमाईमा काँग्रेसका विगतका पराजित उम्मेदवार होम दुलानै नगर प्रमुखमा दोहोरिनु भएको छ।
एमालेका उम्मेदवार सन्दकपुर गाउँपालिकाका उदयबहादुर राई २०७४ मा एमालेबाटै विजयी हुनुहुन्छ।  फाकफोकथुम गाउँपालिकामा एमालेबाट अध्यक्षमा दिपेन्द्र खनाल दोहोरिनु भएको छ। खनालले यसअघि प्रमुखमै उठेर पराजित बन्नु भएको थियो । 
माइजोगमाई गाउँपालिकामा एमालेले उठाएका प्रमुखमा कुशबहादुर थेवे र उपप्रमुखमा सावित्रा भट्टराईमध्ये भट्टराई एमालेबाटै २०७४ मा विजयी उपप्रमुख हुनुहुन्छ।
एमालेले सूर्योदय नगरपालिकाको प्रमुखमा काजीमान कागते र उप-प्रमुखमा २०७४ मा पनि एमालेबाटै उपप्रमुख जितेकी दुर्गादेवी भट्टराई उम्मेद्वार बनाउने भएको छ। माङसेबुङ गाउँपालिकाको प्रमुखमा हेमन्त राई र उपप्रमुखमा सुनिता योङ्गहाङ्गले उम्मेदवारी दिनु भएको छ। उहाँहरु दुवै जना २०७४ मा पनि एमालेबाट तिनै पदमा उम्मेद्वार बन्नु भएको थियो। 
माङ्सेबुङ गाउँपालिकामा अहिले प्रमुखको उम्मेदवार बन्नु भएका डिकेन्द्र इदिङ्गो २०७४ मा काङ्ग्रेसबाटै सोही पदमा विजयी बन्नुभएको थियो।  गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका भागमा परेका दुई पालिकामा समेत समाजवादीले पुरानै अनुहारलाई उम्मेदवार बनाएको छ। समाजवादीले सुर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकामा यसअघि एमालेबाट विजयी बनेका रणबहादुर राई र जीतबहादुर राईलाई नै प्रमुखमा उठाएको छ।
एमालेले यसपटक रोङको प्रमुखमा मेहेरमान तामाङ र उपप्रमुखमा विष्णुमाया भुजेललाई उम्मेद्वार बनाएको छ। भूजेल २०७४ मा पनि उपाध्यक्षमा पराजित बन्नु भएको थियो। कांग्रेसले चुलाचुली गाउँपालिकामा २०७४ मा पराजित राजेन्द्र केरुङलाई उम्मेद्वार बनाएको छ। काँग्रसले रोङ गाउँपालिकामा निवर्तमान उपाध्यक्ष चन्द्रकला राईलाई नै उम्मेदवार बनाएको छ। काँग्रेसले इलाम नगरपालिकाको प्रमुखमा केदार थापा र उपप्रमुखमा विष्णु दाहाल नयाँ अनुसार छानेको छ। यस्तै फाकफोकथुममा नयाँ अनुसार डिकबहादुर थापा र रोङको अध्यक्षमा मनिकुमार तामाङलाई उम्मेदवार बनाएको छ।
एमालेले माई नगरपालिकामा प्रमुखमा  खम्बासिंह लिम्बू तथा उप-प्रमुखमा हिमा भण्डारी, चुलाचुली गाउँपालिकामा ओम नारायण खनाल र दिलु लावती, माईजोगमाईमा कुशबहादुर थेवे र इलाम नगरपालिकामा धिरेन चेम्जोङलाई नयाँ उम्मेदवारका रुपमा अघि सारेको छ। माईजोगमाईमा एमालेले निवर्तमान उपाध्यक्ष सावित्रा भटराईलाई उम्मेदवार बनाएको छ। माईजोगमाईमा काँग्रेसले प्रविना राईलाई नयाँ अनुहारका रुपमा अगाडि सारेको छ। 
८१ वटा वडा रहेको इलाममा अधिकांश वडाध्यक्ष समेत दोहोरिएका छन्। इलामका मुख्य निर्वाचन अधिकृत हरिसचन्द इङनामका अनुासर जिल्लामा राप्रपा, लिम्बुवान, मंगोल नेशनल अर्गनाईजेसन लगायतका दलले पनि उम्मेदवारी दिएका छन्। केही स्थानीय तहमा भने बागी उम्मेदवारी परेको छ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                