• १२ साउन २०८१, शनिबार

सुनसरीबाट एक करोड एक लाखसहित एक जना पक्राउ

blog

नगदसहित पक्राउ परेका ३७ वर्षीय ईसा अन्सारी । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, जेठ २० गते । सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगर गाउँपालिका–५  बस्ने अन्दाजी ३७ वर्षीय ईसा अन्सारी रहेका छन् ।

सहप्रवक्ता थापाका अनुसार सुनसरीको हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरको चेकप्वाईन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई शङ्का लागि चेकजाँच गर्दा कारभित्र बोरामा लुकाइछिपाइ राखेको सो रकम बरामद भएको हो ।

बरामद भएको रकममा एक हजार दरको नोट नौ हजार सात सय थान (९७ लाख) र पाँच सय दरको आठ सय थान (४ लाख) रहेको छ ।

सहप्रवक्ता थापाले रकमसँगै कार र  चालक अन्सारीलाई नियन्त्रणमा लिइएको बताउनुभयो ।

प्रारम्भिक सोधपुछमा अन्सारीले सो रकमको स्रोत खुलाउन नसकेका उहाँको भनाइ छ । नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान तथा कारबाहिका लागि रजास्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रक्रियामा रहेको छ ।