रमेश पौडेल
पोखरा, जेठ १९ गते। गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशले गणतन्त्र दिवसको सन्दर्भमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याउनुभएका व्यक्तित्वलाई सम्मान गरेको छ।
सम्मानित प्रजातन्त्र सेनानीमा मनाङ जिल्लाका कोमलबहादुर घले, बाग्लुङका गोविन्दप्रसाद शर्मा कँडेल, स्याङ्जाका तारापति सुवेदी, कास्कीका पुलेन्द्रमान श्रेष्ठ र तनहुँका लेखबहादुर थापा सम्मानित हुनुभएको हो। उहाँलाई पूर्व सभामुख दमननाथ ढुंगाना, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मालगायतका नेताहरुले कदर-पत्रका साथ दोसल्ला ओढाई सम्मान गर्नुभएको हो।
सो अवसरमा बोल्नु हुँदै पूर्व सभामुख ढुंगानाले वर्तमानमा टेकेर भविष्य निर्धारण गर्नुपर्ने बेला आएको बताउनुभएको छ। २००७ सालदेखिको इतिहासले मात्र कांग्रेस सवल भएर जान नसक्ने बताउँदै अबको लडाई साम्यवादी चरित्र भएका कम्युनिस्टसँग रहेको उहाँको भनाइ थियो।
उहाँले प्रधानीमन्त्री बन्ने र बनाउने भन्दा पनि देश बनाउने नेता र दलको खाँचो रहेको बताउनुभयो। पूर्व सभामुख ढुंगानाले कम्युनिस्ट र प्रजातन्त्रवादी बिच सधैँ अन्तरविरोध हुने भएकाले आजको संकट निम्तिएको उल्लेख गर्नुभयो। बिपी र गणेशमानको राष्ट्रिय मेलमिलापको नीति लिएर भए पनि कम्युनिस्टलाई समेटेर लैजानुपर्ने उहाँको भनाइ थियो।
प्रधानमन्त्री प्रचण्डतर्फ लक्षित गर्दै उहाँले प्रधानमन्त्री जस्तो व्यक्तिले सधैँ उथलपुथल पार्छु भन्ने अभिव्यक्तिले मुलुकलाई झनै अस्थिरतातर्फ लगेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो। मुलुकमा टिआरसी विद्येयक टुङ्गो लगाउनुपर्ने अवस्थामा कम्युनिस्ट जिम्मेवार नभएको पनि उहाँले बताउनुभयो।
त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानसभाबाट ल्याएको संविधानलाई पार्टीकै कारणले खतरा भएको बताउनुभयो। उहाँले न्यायिक सर्वोच्चता र न्यायिक मर्यादाको बारेमा चुनौती आएकोमा चिन्तासमेत व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटले बिपी र गणेशमानको मार्ग छोड्दै जाँदा कांग्रेसमा संकट आएको बताउनुभयो। कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने विचार राख्नुभयो।
गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशका अध्यक्ष दुर्गा तिम्सिनाको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेल, गुरु बराल, सम्मानित व्यक्तित्व लेखबहादुर थापा, उपाध्यक्ष मोहन गुरुङ, सचिव कुमार रानालगायतले गणेशमान सिंहको व्यक्तित्व र कांग्रेसका बारेमा आआफ्नो भनाइ राख्नुभएको थियो।