• १३ साउन २०८१, आइतबार

दाङका १० पालिकामा मनोनयन दर्ता

blog

उम्मेदवारी मनोनयन गर्न जाँदै सत्ता गठबन्धनका उम्मेदवार।

गोकर्ण/लिलाधर 
घोराही, वैशाख १२ गते।
स्थानीय तह निर्वाचनका लागि दाङका १० पालिकामा विभिन्न राजनीतिक दलका उम्मेद्वारले मनोनयन दर्ता गर्नुभएको छ। जिल्लामा सोमबार पाँच दलीय गठबन्धन, नेकपा (एमाले), राप्रपा, नेकपा माले, मङ्गोल नेशनल अर्गनाइजेशन, विवकेशील साझासहित स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको हो। जिल्लाका घोराही तुलसीपुर उपमहानगरपालिका, बंगलाचुुली  गाउँपालिकामा मात्रै गठबन्धनबाट उम्मेदारी दिइएको छ। अन्य पालिकामा भने गठबन्धनबीचका दलको उम्मेदवारी मनोनयन गरिएको छ। 

घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुखमा हेमराज शर्मा र उपप्रमुखमा  भुपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराउनुभएको छ। नेकपा (एमाले)बाट  प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डिसीले मनोनयन दर्ता गराउनुभएको छ। राप्रपाबाट नगरप्रमुखमा सरिता देवकोटा, मालेबाट नेत्रप्रकाश पाण्डे, स्वतन्त्रबाट श्रीमणकुमार शर्मा न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ। 

गठबन्धनमा भएको सहमति अनुसार प्रमुखमा माओवादीबाट शर्मा र उपप्रमुखमा नेपाली कांग्रेसबाट डाँगीले उम्मेदवारी दर्ता गर्नुभएको हो। उम्मेदवारी दर्ताका लागि घोराहीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शर्मा र डाँगी बाजागाजासहितको  र्यालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो। 

तुलसीपुरमा गठबन्धनबाट गिरी र एमालेबाट खड्काको उम्मेदवारी

त्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट गेहेन्द्र गिरी र उपप्रमुखमा जोगबहादुर रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गिरीले गठबन्धनका तर्फबाट तुलसीपुरको प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो। नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहनुभएका गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित हुनुभएको थियो। त्यसैगरी उपप्रमुखमा  एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ। 

नेकपा एमालेका तर्फबाट तुलसीपुरको प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ। बाजागाजा र र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खड्का र चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो। खड्का  एमाले दाङका पूर्वअध्यक्ष तथा चौधरी सामाजिक अभियान्ता हुनुहुन्छ। 

लमही नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीले उम्मेदवारी दर्ता गराउनुभएको छ। सत्ता गठबन्धनमा सहमति  नभएपछि गठबन्धनका दलले एक्लाएक्लै दर्ता गराएका हुन् । लमहीमा नेकपा एमालेबाट नगर प्रमुखमा डण्डीराम चौधरी  उपप्रमुखमा सुशीला शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ। लमहीमा माओवादीका तर्फबाट वसन्त शर्माले र उपप्रमुख गङ्गा पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ। 

बबई गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खडका, दंगीशरणको अध्यक्षमा शम्भु गिरी उपाध्यक्षमा पिमाकुमारी खड्का, राप्तीको अध्यक्षमा जगदम्बाकुमारी चौधरी र उपाध्यक्षमा हरि भुसाल, गढवामा अध्यक्षमा सर्वजित डाँगी र उपाध्यक्षमा शारदा चौधरी, राजपुरमा अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपती यादवले उम्मेद्वारी दर्ता गराउनुभएको छ। जिल्लाका दुई गाउँपालिकामा  गठबन्धनबाट उम्मेद्वारी परेको छ। शान्तिनगरमा नेपाली काँग्रेसबाट अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा केसीले उम्मेदवारी दर्ता गराउनुभएको छ। बंगलाचुली गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रबाट सुवास पुन र उपाध्यक्षमा नेपाली काँग्रेसबाट भक्तबहादुर जिसीले मनोनयन दर्ता गराउनुभएको छ।  

यता नेकपा एमालेको तर्फबाट बबई गाउँपालिकाको अध्यक्षमा भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्वकर्माले मनोनयन गर्दा गराउनुुभएको छ। पौडेल र विश्वकर्मा २०७४ स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेबाट निर्वाचित हुनुभएको थियो। शान्तिनगर गाउँपालिकामा विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दंगीशरण गाउँपालिका अध्यक्षमा एम.एन. शाह र उपाध्यक्षमा बुधनी चौधरी, राप्ती गाउँपालिकामा अध्यक्ष जगत पोख्रेल र उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिकामा अध्यक्ष सहजराम अहिर र उपाध्यक्षमा सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्ष कुलराज गिरी र उपाध्यक्षमा सीता यादव र बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वता घर्तीमगरले मनोनयन दर्ता गराउनुभएको छ। 


उम्मेदवारी मनोनयनका लागि जाँदै नेकपा एमालेका उम्मेदवार। 

उता गढवामा नेकपा माओवादी केन्द्रबाट  अध्यक्षमा यमनारायण शर्मा पोख्रेल र उपाध्यक्षमा एकीकृत समाजवादीकी शान्ति चौधरीले मनोनयन दर्ता गराउनुभएको छ। त्यसैगरी राप्ती गाउँपालिकामा माओवादीबाट प्रकाश विष्ट र जनमोर्चाबाट उपाध्यक्षमा  केशव खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ। राजपुरमा अध्यक्षमा चक्रबहादुर खडका र उपाध्यक्षमा पुष्पा यादव, बबईको अध्यक्षमा भीमबहादुर वली र उपाध्यक्षमा अञ्जु घर्तीले मनोनयन दर्ता गराउनुभएको छ। दंगीशरणमा अध्यक्षमा मणिराम चौधरी र उपाध्यक्षमा विनीता चौधरी, शान्तिनगरको अध्यक्षमा मोहन वली र उपाध्यक्षमा राधिका परियारले मनोनयन दर्ता गराउनुभएको छ। 

यसैबीच दाङ जिल्लामा सत्ता गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिलेपछि एकीकृत समाजवादी केही पालिकामा एकल उम्मेदवारी दर्ता गराएको छ। एकीकृत समाजवादीका तर्फबाट घोराही उपमहानगरपालिकाको प्रमुखमा  रामप्रसाद चौधरी र उपप्रमुखमा सोभा शाहले उम्मेदवारी दिनुभएको छ।