• १२ साउन २०८१, शनिबार

गर्मीयाममा विद्युतकै सास्ती

blog

कञ्चनपुर, जेठ १९ गते । शुक्लाफाँटा नगरपालिका-५ सार्की टोलका बासिन्दालाई गर्मी याममा विद्युतको सास्ती हुने गरेको छ । एघार परिवार बस्ने उक्त टोलमा अझै पनि विद्युत लाइन विस्तार हुन सकेको छैन । विद्युत लाइन विस्तार नभएपछि जोखिमयुक्तरुपमा छ सय मिटर परबाट सर्भिस तार तानेर स्थानीयले घरघरसम्म विद्युत पुर्‍याएका छन् । 

“सर्भिस तार तान्दा निकै खर्च लाग्ने गरेको छ”, भरत सार्कीले भन्नुभयो, “तार ल्याउन धेरै परिवारसँग खर्च नहुँदा केही परिवारले छिमेकीको घरबाट महसुलमा आधा रकम तिर्ने गरी विद्युत जोडेका छन् ।” गर्मी याममा विद्युतीय उपकरण बढी प्रयोग हुने भएकाले यसरी जोडिएको विद्युत सर्ट भएर आगलागी हुने सम्भावना बढेको उहाँले बताउनुभयो । 

लाइन विस्तार नहुँदा जोखमयुक्त तरिकाले विद्युत उपभोग गर्नुपरेको सरस्वती सार्कीले बताउनुभयो । “अरू समुदायका घरसम्म विद्युत लाइन पुर्‍याइएको छ”, उहाँले भन्नुभयो, “सार्की समुदायको बस्तीमा मात्रै लाइन विस्तार गरिएको छैन । हिउँदमा विद्युत खपत कम हुने भएकाले समस्या नभए पनि गर्मी याममा सास्ती हुने गरेको छ ।” पाँच वर्षदेखि विद्युत लाइन विस्तारका लागि नगरपालिका कार्यालयमा अनुरोध गर्दा पनि सुनवाइ नभएको उहाँको भनाइ छ ।

“विद्युत लाइन विस्तारका लागि चालु आवमा बस्तीका सबैको हस्ताक्षर गरेर नगरपालिकामा निवेदन बुझाएका छौँ”, नगरपालिका कार्यपालिकाका सदस्य गणेश विकले भन्नुभयो, “कार्यपालिका सदस्यकै कुरा पनि सुनिँदैन, वडा कार्यालयसँग विद्युत लाइन विस्तारका लागि बजेट छैन, नगरपालिकाले वर्षौँदेखि आश्वासन मात्रै दिने गरेको छ ।” दश, पन्ध्र वटा खम्बा गाडेर बस्तीमा विद्युत लाइन विस्तार गर्न सकिने भन्दै जनप्रतिनिधिले चासो नदिँदा समस्या भएको दलित अधिकारकर्मी अन्तराम बडले बताउनुभयो । 

सर्भिस तार हुरीका कारण बिचबिचमा चुँडिँदा बस्तीमा कहिलेकाहीँ लामो समयसम्म विद्युत सेवा अवरुद्ध हुने गरेको स्थानीयको भनाइ छ । विद्युत सेवा अवरुद्ध हुँदा गर्मीमा पसिना चुहाउँदै अनिदोमा रात काट्नुपर्ने अवस्था रहेको सेविका सार्कीले बताउनुभयो । नेपाल विद्युत प्राधिकरणसँग छलफल गरी सार्की बस्तीमा विद्युत लाइन विस्तार गर्न यथाशीघ्र पहल गरिने वडाध्यक्ष चक्रबहादुर खड्काले बताउनुभयो । “प्राधिकरणसँग लाइन विस्तारका लागि छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो, “नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्था गरी आगामी आवभित्र लाइन विस्तार गर्ने योजना बनाएका छौँ ।” रासस