• १२ असार २०८१, बुधबार

बढ्दै छ चलचित्रमा लगानी

blog

काठमाडौँ, जेठ १९ गते ।  कुनै समय थियो जुन बेला नेपाली चलचित्रमा लगानी गर्नु भनेको ‘बालुवामा पानी हाल्नु’ सरह हुन्थ्यो तर अहिले समय बदलिएको छ । अहिले एक दुई वटा चलचित्र छोडेर भन्ने हो भने अधिकांशले लगानी उठाउने गरेको निर्माताको भनाइ छ । नयाँ शैलीसाथ चलचित्र निर्माण हुने क्रम बढ्दो छ । अधिकांशलाई लगानी डुब्छ भन्ने थाहा हुँदाहुँदै पनि यो क्षेत्रमा लगानी गर्नेको भिड उस्तै छ । पुराना केही लगानीकर्ता हराए पनि नयाँ भित्रिने क्रम बढ्दो छ । 

कलाकार दीपकराज गिरीका अनुसार चलचित्रमा विभिन्न दृष्टिकोणले लगानीकर्ता आकर्षित हुने गरेका छन् । संसारको कुनै पनि सिनेमा उद्योगमा ढुक्क भएर लगानी गर्ने वातावरण हुँदैन । चलचित्र भनेको संसारका १० वटा अस्थिर व्यापारमा पर्छ । बैङ्कले ऋण दिनलाई पनि हिचकिचाउँछ । दैवी प्रकोप भएमा पनि सिनेमालाई असर गर्छ । प्रचारप्रसार सही नभए पनि असर गर्छ । सही कलाकार छनोट नभए पनि असर गर्छ । यी सबै चिज भए पनि दर्शक नआएर असर गर्न सक्छ । निर्माता निर्देशक गिरीले भन्नुभयो, “नेपालको सन्दर्भमा कमाउने चलचित्र वर्षमा दुई तीन वटा हुन्छन् । अरू सबै होहल्लाकै बिचमा टिकेका छन् । अहिले पनि लगानी उठ्यो भने सुपरहिट, पैसा कमाएमा ब्लकबस्टर ।” 

अहिले नेपाली चलचित्र निर्माणमा नयाँ नयाँ निर्माता तथा लगानीकर्ता धमाधम देखा परिरहेका छन् । सामान्यतया एउटा चलचित्र निर्माण गर्नका लागि कम्तीमा ६० लाखदेखि डेढ करोडसम्म लगानी हुने गरेको निर्माता बताउँछन् । नेपाली चलचित्रमा लगानी बढ्नु राम्रो हो तर पनि सामान्यतया पाँच करोडको बजार भएको नेपाली चलचित्र क्षेत्रका लागि पाँच करोडको लगानी गर्न जोखिम नै मान्नुपर्ने हुन्छ । निर्देशक नवल नेपालका अनुसार सङ्ख्यात्मक हिसाबले जति पनि चलचित्र बनिरहेका छन् त्यसमा गुणात्मक पनि थपिँदै गइरहेका छन् । व्यावसायिक आँकडा पनि बढ्दै गइरहेको छ । यो चलचित्रकर्मीका लागि सकारात्मक कुरा हो । उहाँ भन्नुहुन्छ, “पाँच सात वर्षअघि फर्केर हेर्ने हो भने सय वटा चलचित्र बन्थे । जसमा तीन चार वटाले मात्र लगानी उठाएको हामी सुन्ने गथ्र्यौं । अहिले जुन निर्माणको अनुपातमा चलचित्र बनिरहेका छन् त्यसमा अत्यधिक रूपमा लगानी सुरक्षित हुनु एउटा पाटो छ र मुनाफा कमाउनु अर्को पाटो छ । चलचित्रमा हिजोको समयमा एक दुई जना लगानीकर्ता हुन्थे । अहिले चार पाँच जनाको टिमको समूह लगानीकर्ता हुने गरेका छन् । फेरि अहिले चलचित्र टिमका साथीहरू आफैँ आफैँ मिलेर चलचित्र निर्माण गर्ने गरेका छन् । उहाँका अनुसार अहिले जग्गा दलाल र सेयर कारोबार गर्नेले चलचित्रमा लगानी गर्दैनन् । अहिले चलचित्रको टिम नै आफू आफू सेयरमा बस्ने गर्छन् । चलचित्रमा लगानी गर्नु भनेको घाटा खानु हो भनेर पनि कतिपय निर्माताले भन्ने गरेका छन् तर पछिल्लो समयमा थुप्रै नेपाली चलचित्र निर्माण भइरहेका छन् । नेपाली चलचित्र निर्माणको सुरुवाततिरका वर्षमा एउटा चलचित्र निर्माण हुने गर्दथ्यो । अहिले सयभन्दा बढी नेपाली चलचित्र निर्माण हुने गरेका छन् ।

निर्माता तथा निर्देशक दीपेन्द्र के खनाल यी सबै हुनुको कारण विदेशी चलचित्रको न्यून चापले भएको बताउनुहुन्छ । उहाँका अनुसार एउटा जमाना यस्तो थियो, जसले रहरले मात्र चलचित्रमा लगानी गर्ने गर्थे । अहिले चलचित्रमा नै जीवन खोज्नेहरू बढी देखिइरहेका छन् । अहिले लगानीकर्ताले यस क्षेत्रलाई हल्का रूपमा नलिई समग्र चलचित्र क्षेत्रलाई विकास, विस्तार, व्यावसायिक र पेसागत हिसाबले केही गरौँ भन्ने भावनाले प्रवेश गरेका छन् ।