• १२ साउन २०८१, शनिबार

किम्फमा डोरबहादुर

blog

काठमाडौँ, जेठ १९ गते  । नेपालका विविध जातजाति र समुदायबारे अध्ययन अनुसन्धान गरेर ख्याति कमाएका डोरबहादुर विष्ट नेपालकै बौद्धिक व्यक्तित्वमा गनिन्छन् । उनी मानवशास्त्री र साहित्यकारका रूपमा समेत चर्चित छन् । २१ औँ किम्फमा नेपाली मानवशास्त्रका संस्थापक प्राध्यापक उनै डोरबहादुर विष्टबारे बनेको वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ प्रदर्शन गरिएको छ । सचिन घिमिरे र गौरव केसीद्वारा निर्देशित ७९ मिनेटको वृत्तचित्रमा डोरबहादुरको बौद्धिक योगदान र निजी जीवनका विविध पाटा उजागर गरिएका छन् । प्राज्ञिक कर्मसँगै सामाजिक रूपान्तरणमा समेत झुकाव भएका डोरबहादुर २०५२ पुस २७ देखि रहस्यमयी रूपमा बेपत्ता छन् । जुम्लाबाट नेपालगन्ज उडेर यात्रा गरेको खबरयता आजपर्यन्त उनी अलप छन् । जीवित छँदा डोरबहादुर बेलाबखत भन्थे रे, “म अलप हुन चाहन्छु ।” निर्देशक सचिन घिमिरेका अनुसार उनको यही भनाइलाई चलचित्रको नाम दिइएको हो । जुम्लाको चौधाबिसा गाउँमा गएर त्यहाँका मानिसको जीवनस्तर उकास्न उनले महत्वपूर्ण काम गरेका थिए । उनको त्यही योगदानका कारण आज पनि डोरबहादुर जुम्लावासीका मनमा बास गरिरहेका छन् । यस वृत्तचित्रमा जुम्लावासीले उनलाई सम्झेर भावुक भएका कैयौँ सन्दर्भ आएका छन् । चलचित्रमा उनका परिवारका सदस्यबाहेक केही विदेशी अनुसन्धाताले समेत डोरबहादुरको आनीबानी, बौद्धिकता र निजी जीवनबारे प्रकाश पारेका छन् । डोरबहादुर लिखित ‘फ्याटलिजम एन्ड डेभलपमेन्ट’ र ‘पिपुल अफ नेपाल’ नेपाली र विदेशी अध्येतामाझसमेत चर्चित छन् ।