• १३ मंसिर २०८१, बिहिबार

लोकमार्ग निर्माणले लेखनाथमा खानेपानीको समस्या

blog

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ १८ गते । 
पोखरा महानगरको साबिक लेखनाथ क्षेत्रमा अहिले खानेपानीको आपूर्तिमा समस्या भएको छ । यहाँ वितरण गरिने पानीको मूलनजिक मध्यपहाडी लोकमार्ग निर्माणका क्रममा थुप्रिएको ढुङ्गा, माटोका कारण पानीको वितरण प्रणाली प्रभावित बनेको हो ।

लेखनाथ क्षेत्रको पानीको मुहानभन्दा माथि मादी गाउँपालिका वडा नम्बर ७ को पानीघाट र पोखरा–२० को आँटीघर मौजा क्षेत्रमा बाटो निर्माणका क्रममा खानेपानी आपूर्तिमा समस्या आएको हो । यसै पनि लामो खडेरीका कारण पानीका मूल साना हुँदा आपूर्ति कम भएको थियो ।

पानी आपूर्ति वितरण प्रभावित हुँदा तालचोकदेखि वेगनासताल क्षेत्र र भण्डारढिकदेखि गगनगौंडासम्मका उपभोक्तामा समस्यामा परेका छन् । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रमुख शिवप्रसाद अमात्यले बाटो निर्माणपछि वर्षाले पानी सङ्कलन केन्द्रमा ढुङ्गा, माटो थुपारेकाले पनि पानी वितरणमा समस्या परेको जनाउनुभयो ।

बर्खा याममा हरेक वर्ष खानेपानी वितरणमा आउने समस्या समाधान गरे पनि फेरि समस्या थपिने गरेको संस्था अध्यक्ष मुरारी शर्मा बताउनुहुन्छ । “हरेक वर्ष समाधान गर्ने प्रयास गर्छौँ, समस्या सुल्झाउँछौ पनि । तर विकासका नाममा खनिने बाटोघाटो र अन्य भौतिक निर्माणले फेरि समस्या ल्याइहाल्छ,” शर्माले भन्नुभयो । खानेपानी आपूर्तिमा समस्या आएपछि आठ वटा बोरिङबाट संस्था खानेपानी आपूर्ति थालेको छ । यद्यपि त्यो पर्याप्त नभएको शर्माले सुनाउनुभयो ।

लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले १६ हजार चार सय ५९ घरधुरीका एक लाख ५० भन्दा बढी उपभोक्तालाई खानेपानी आपूर्ति गर्दै आएको छ । संस्थाले पोखरा महानगरका पाँच वडा २६, २७, २९, ३० र ३२ मा खानेपानी आपूर्ति गर्दै आएको छ ।