• १० मंसिर २०८१, सोमबार

ग्रिनबिचको मेयरमा रानाभाट निर्वाचित

blog

संयुक्त अधिराज्य (बेलायत) को लण्डन रोयल बरो अफ ग्रिनविचको मेयरमा निर्वाचित नेपाली मुलका जित रानाभाट ।

लण्डन समाचारदाता 

लण्डन, जेठ १७ गते । संयुक्त अधिराज्य (बेलायत) को लन्डन रोयल बरो अफ ग्रिनबिचको मेयरमा नेपाली मूलका जित रानाभाट निर्वाचित हुनु भएको छ ।

लेबर पार्टीका उहाँलाई गत साता सम्पन्न बरोको साधारण सभाले सर्वसम्मत रूपमा मेयरमा निर्वाचित गरेको थियो । निर्वाचित भएसँगै उहाँले एक समारोहबिच बुधबार साँझ एक वर्षे कार्यकालका लागि मेयरको शपथ लिनुभयो । 

सोहीक्रममा बरोका निवर्तमान मेयर काउन्सिलर डा. डोमिनिक एमब्याङले मेयरले लगाउने अफिसियल चेन हस्तान्तरण गर्दै रानाभाटलाई औपचारिक कार्यभार सुम्पिनु भएको थियो । यसअघि रानाभाट बरोको उपमेयर हुनुहुन्थ्यो । त्यसअघि उहाँ सन् २०२२ मा काउन्सिलरमा निर्वाचित हुनु भएको थियो । 

शपथ ग्रहणपछि उहाँले बेलायत नेपाल र ब्रिटिस गोर्खाबिचको लामो सम्बन्धबारे चर्चा गर्दै आफूले गोर्खा गार्डेन प्रोजेक्ट र बाउल क्यान्सर सचेतना प्रोजेक्ट छानेको बताउनुभयो । कोभिड समयमा उल्लेखनीय योगदान गरेबापत ग्रिनबिच र बेक्सले बरोबाट ‘लकडाउन हिरो’ मा नामाङ्कित रहिसक्नु भएका मेयर रानाभाटले सामाजिक सदभाव कायम राख्दै सांस्कृतिक विविधतायुक्त बरोमा सबै समुदायसँग सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

शपथग्रहण समारोहमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, बेलायती राजपरिवारका प्रतिनिधि समेत रहनु भएका ग्रिनबिच बरोका डेपुटी लेफ्टिेन्ट, बरोका उच्च अधिकारी र नेपाली समुदायको उल्लेखनीय उपस्थिति थियो । सोही अवसरमा रानाभाटकी श्रीमती गौमाया गुरुङलाई मेयरेस घोषणा गरिएको थियो । 

बेलायतमा काउन्टी, डिस्ट्रिक, बरो, सिटी, टाउन, र पेरिस काउन्सिल गरी विभिन्न स्थानीय तह रहेका छन् । जसको केहीमा प्रत्यक्ष निर्वाचित मेयर तथा केहीमा काउन्सिल लिडरको कार्यकारी अधिकार रहने गर्दछ । 

लण्डनभित्र ३२ वटा बरो रहेका छन् । इङ्ल्याण्डमा रसमुर, ग्रिनबिच, रिडिङ, केन्टका साथै वेल्स, स्कटल्याण्ड र उत्तरी आयरल्यान्डमा नेपालीहरूको उल्लेखनीय बसोबास छ । बेलायतमा आगामी जुलाई ४ मा संसदीय निर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारुढ कन्जरभेटर र विपक्षी लेबर पार्टीबिच प्रतिस्पर्धा हुने सर्वेक्षणले देखाएको छ ।