• ११ मंसिर २०८१, मङ्गलबार

उदयपुरमा ५० शय्याको सुविधा सम्पन्न गाईघाट सिटी अस्पताल सञ्चालन

blog

उदयपुरमा सञ्चालनमा ल्याइएको आधुनिक सुविधासम्पन्न गाईघाट सिटी अस्पताल भवन । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल
गाईघाट, जेठ १६ गते । 
उदयपुरको सदरमुकाम गाईघाटमा अत्याधुनिक सुविधासहितको उपचार सेवा प्रवाह गर्नेगरी ५० शय्याको नयाँ अस्पताल सञ्चालनमा आएको छ । आधुनिक शल्यक्रियासहितको विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा प्रवाह गर्ने गरी गाईघाट सिटी हस्पिटल प्रालीले बुधबारदेखि नयाँ अस्पताल सञ्चालनमा ल्याएको हो ।

अस्पताल परिसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सो अस्पतालका प्रबन्ध निर्देशक रमेशकुमार आचार्यले आजैदेखि २४ सै घण्टा इमर्जेन्सी सेवासहित आइसियु, एनआइसियू, अत्याधुनिक ल्याब, एक्स-रे, भिडियो एक्स-रे, ईन्डोस्कोपी, ल्याप्रोसकोपी र २४ सै घण्टा फार्मेसी सेवा सुरु गरिएको बताउनुभयो ।

अस्पतालमा जेनरल वार्ड, प्राइभेट वार्ड, आधुनिक अप्रेसन थ्रेटर, डेलिभरी वार्ड र पोष्ट अप वार्डसहितको सेवाहरू प्रवाह गरिने र यसका लागि अहिलेसम्म करिब १५ करोड रुपियाँ लगानी भइसकेको र अब करिब पाँच करोड रुपियाँ थप लगानी गरी कुनैपनि प्रकारको बिरामीहरूको उपचार सेवामा सहजता ल्याउन अस्पताल रवयवस्थापनले कमी नगर्ने प्रबन्ध निर्देशक आचार्यले जानकारी दिनुभयो ।

अस्पतालमा स्त्री तथा महिला रोगको विशेषज्ञ सेवामा डा.डिएल यादव, जेनेरल फिजिसिएन सेवामा डा.विवेक प्रभाव साह, बाल रोगको विशेषज्ञ सेवामा डा.सञ्जीव साह, जनरल सर्जन सेवामा डा.कृष्ण यादव र हाड जोर्नी तथा नसारोग विशेषज्ञ सेवामा डा.अर्जुन दास संलग्न रहनुभएको सो पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

उपचार प्रणालीमा प्रयोग हुने अति महँगा र आधुनिक उपकरणहरू अस्पतालका कक्षहरूमा जडान गरिएको र यसबाट सर्व साधारण नागरिकहरूले धरान विराटनगरलगायतका ठुला सहरहरूमा पाउने सेवा यही प्राप्त गर्न सकिने भएकोले यो अस्पताल सञ्चालनमा आएसँगै अब गाईघाट बासिलाई स्वास्थ्य उपचारमा आर्थिक रूपले पनि निकै ठुलो राहत मिलेको स्थानीय औषधी व्यवसायी विजय साहले बताउनुभयो ।

विराटनगर धरान जस्ता ठुला सहरमा सञ्चालन भएका अस्पातलहरुले दिने उपचार सेवा त्यहाँभन्दा करिब १० प्रतिशत कम शुल्कमा यही पाउन सकिने र होलबडी स्वास्थ्य परिक्षको शुल्क तत्कालका लागि तीनहजार पाँचसय मात्र निर्धारण गरिएकोले यो सेवाका लागि आजैबाट सेवाग्राहीहरूको भीड बढेको अस्पतालका मुख्य डा. डिएल यादवले बताउनुभयो ।

गाईघाटबाट विराटनगर वा धरानसम्म बिरामी लैजाँदा र ल्याउँदा लाग्ने करिब १५ हजार रुपियाँको एम्बुलेन्सको भाडा खर्च, थप अन्य बस्ने खाने लगायतका बन्दोवस्तिका खर्चहरू र उपचार शुल्क समेतमा १० प्रतिशतले बचत हुने हुँदा अब आमसर्वसाधारणका लागि गाईघाट सिटी हस्पिटलले आर्थिक रूपमा पनि धेरै टेवा दिएको निर्देशक आचार्यले बताउनुभयो ।

करिब एकलाख १० हजार जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका र आसपासका अन्य पालिका लगायत छिमेकी जिल्लाहरू सिरहा, सप्तरी, खोटाङ्ग, शोलुखुम्बु, ओखलढुङ्गा र भोजपुर जिल्लासम्का बिरामीहरूका लागि यो अस्पताल भरपर्दो उपचारका लागि उपयोगी हुने विश्वास गरिएको छ ।