गुणबहादुर रोका
सुलीकोट, जेठ १६ गते । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना तथा जिल्ला खेलकुद विकास समिति गोरखा र जिल्ला कबडी सङ्घको समन्वयमा गणतन्त्र दिवसको अवसर पारेर पर्यटकीय गन्तव्यको रूपमा प्रख्यात पालुङटारको लिगलिग कोटमा भएको कबडी खेलमा कास्कीले उपाधि हात पारेको छ । आज भएको खेलमा कास्कीले बागलुङलाई हराउँदै कास्की विजेता बनेको हो ।
फाइनलमा पुगेको बागलुङ उपविजेतामा चित्त बुझाएको छ । विजेता हुने टिमले नगद ७० हजार ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको बागलुङले ५० हजार नगदसहित ट्रफी र मेडल र प्रमाणपत्र गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिहं बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी म्याग्दी र तनहुँ स्वतः तेस्रो स्थान हात पार्न सफल भएका छन् । दुवै टिमलाई समान ३०/३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सोमबारबाट सुरु भएको प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका १० जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो ।