• १२ साउन २०८१, शनिबार

एउटा ट्रकले गर्दा २२ घण्टा राजमार्ग अवरुद्ध

blog

बोमलाल गिरी

नवलपुर, जेठ १६ गते । एउटा ट्रकका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडक २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको छ । 

सोमबार साँझदेखि परेको पानीका कारण नवलपुरको गैँडाकोट थुम्सीमा सडक भासिदा राति २ बजेदेखि अवरुद्ध सडक ११ घण्टापछि एकतर्फी र २२ घण्टापछि पूर्ण सञ्चालनमा आएको नवलपुर प्रहरीले जनाएको छ । 

सडक छेउमा फसेको बा प्र ०३–००१ ख ०९६१ नम्बरको ट्रकका कारण बाटो अवरुद्ध भएको थियो । नारायणघाट–बुटवल सडक योजनाको लापरवाही लामो समय बाटो अवरुद्ध हुँदा यात्रुले सास्ती पाउनु परेको थियो । सडक योजनाले उक्त ट्रकका चालक, सहचालक र सवारी धनी सम्पर्कमा नआएका कारण त्यसलाई हटाउन नसकेको भनेर गलत सूचना दिएकाले बाटो लामो समयसम्म अवरुद्ध हुन पुगेको प्रहरीले जनाएको छ ।

योजनाले ट्रकसँग सम्बन्धित व्यक्ति वा ट्रकसँग सम्बन्धित व्यक्तिलाई चिन्ने व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गर्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको थियो । तर प्रहरीले भने ट्रक चालक घटनास्थलमै रहेको र ट्रक धनीसँग पनि सम्पर्क भएको बताएको थियो । 

तर आयोजनाले यसो भने पनि ट्रक तान्ने क्रेन आउन ढिलाइ भएकाले बाटो सञ्चालनमा आउन नसकेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले ट्रक तान्न विशेष खालको क्रेन चाहिले र क्रेन मगाउन आयोजनाले ढिलाइ गरेको बताउनुभयो ।

ट्रक तान्न दुम्कीबाट मगाइएको क्रेन दाउन्नेमा जाममा फसेकाले अहिलेसम्म पनि घटनास्थलमा नपुगेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । क्रेन नआएपछि वैकल्पिक बाटो निर्माण गरेर सञ्चालनमा ल्याइएको पौडेलको भनाइ छ । सडक आयोजना स्थलमा समस्या आए निर्माण कम्पनी आफैले तत्काल सहज गराउनु पर्ने भए पनि क्रेन ल्याउन नसक्दा लामो समय बाटो अवरुद्ध भएको थियो ।