चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ १५ गते । ताप्लेजुङमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सम्बद्ध युवा र विद्यार्थीलाई प्रशिक्षण प्रदान गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर मङ्गलबार योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल र अनेरास्ववियु (क्रान्तिकारी) ले कार्यक्रम आयोजना गरी युवा र विद्यार्थीलाई प्रशिक्षण प्रदान गरेको हो ।
माओवादी केन्द्रको ‘पूर्वेली सङ्गठन सुदृढीकरण अभियान’अन्तर्गत युवा र विद्यार्थीको जिल्लास्तरीय प्रशिक्षण आयोजना गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङले जानकारी दिनुभयो । माओवादीले गत वैशाख १५ देखि दुई महिने पूर्वेली सङ्गठन सुदृढीकरण अभियान सञ्चालन गरेको छ । कार्यक्रममा युवा र विद्यार्थीलाई वर्तमान राजनीतिक परिस्थिति, तत्काल बहन गर्नुपर्ने जिम्मेवारी र दायित्वसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।
माओवादी केन्द्र कोशी प्रदेश समिति अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो), केन्द्रीय सदस्य तथा कोशी प्रदेशका विभागीय इन्चार्ज मुक्सामहाङ मेन्याङ्बो, जिल्ला संयोजक हाङ्बाङ, वाईसीएलका प्रदेश संयोजक कुमार आचार्य, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय उपमहासचिव प्रजिन हाङ्बाङलगायतले प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणमा वाईसीयलमा आबद्ध युवा तथा अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थी गरी करिब दुईसय जना सहभागी भएको वाईसीएलका जिल्ला संयोजक कैलाश माबोले जानकारी दिनुभयो ।