• ४ असार २०८१, मङ्गलबार

ललितकला पुरस्कार घोषणा

किरण र श्यामवदनलाई अरनिको सम्मान

blog

काठमाडौँ, जेठ १४ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले कलाकारद्वय किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्रदान गर्ने भएको छ । सो सम्मानको राशि जनही एक लाख ५० हजार रुपियाँ रहेको छ । कलाकार सुरेश लवट तुलाधरलाई एक लाख रुपियाँ राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार प्रदान गरिने भएको छ । 

राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ को तयारी सम्बन्धमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालमा जेठ १५ देखि राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ हुँदै छ । प्रदर्शनीमा ४८२ जना कलाकारका ५२२ कलाकृति समावेश गरिने जनाइएको छ ।

प्रतिष्ठानले विभिन्न विधाका क्षेत्रीय एवं राष्ट्रिय पुरस्कारको समेत घोषणा गरेको छ । यसै गरी कृष्ण लामा (समसामयिक चित्रकला), श्रवणकुमार महर्जन (समसामयिक मूर्तिकला), महेश्वर डङ्गोल (परम्परागत चित्रकला), सुमन शाक्य (परम्परागत मूर्तिकला), विनोदकुमार वज्राचार्य (हस्तकला), विजयकुमार दत्त कायस्थ (लोककला), टासी सलाका (प्रतिस्थापन कला) र रामगोपाल वैद्य (फोटोग्राफी) लाई राष्ट्रिय ललितकला पुरस्कार प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि जनही ६० हजार रुपियाँ रहेको छ । मूर्तिकार लक्ष्मण भुजेललाई सहिद कलाकार अनिल लामा स्मृति पुरस्कार २०८१ र भुवन थापालाई सहिद कलाकार बाबुराम लामा स्मृति पुरस्कार २०८१ प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ । 

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ज्ञानेन्द्र विवशलाई ललितकला लेखन पुरस्कार प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि ६० हजार रुपियाँ रहेको छ । गोरखापत्र दैनिकका सुकृत नेपाल र दी राइजिङ नेपालका रेनुका ढकाललाई ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि जनही ३० हजार रुपियाँ रहेको छ ।

प्रादेशिक पुरस्कारतर्फ कोसीबाट सामना राई (भावभङ्गिमा कला), मधेशबाट विगुल ढकाल (समसामयिक चित्रकला) बागमतीबाट अनमोलरत्न तुलाधर (परम्परागत चित्रकला), गण्डकीबाट मिमबहादुर रानामगर (समसामयिक मूर्तिकला), लुम्बिनीबाट आकाश बुढामगर (समसामयिक चित्रकला), कर्णालीबाट टोपेन्द्र डाँगी (समसामयिक मूर्तिकला), सुदूरपश्चिमबाट महेन्द्र पुन (समसामयिक मूर्तिकला) लाई प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार प्रदान गरिने भएको छ । सो पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ ।

प्रादेशिक ललितकला विधागत पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोशीबाट सोनी राई, मधेशबाट स्मिता श्रीवास्तव, बागमतीबाट सुदीपकुमार बस्याल, गण्डकीबाट सुदिन श्रेष्ठ, लुम्बिनीबाट खेमबहादुर घिमिरे, कर्णालीबाट सुभाषकुमार शाक्य, सुदूरपश्चिमबाट यसोदाकुमारी सिंह, समसामयिक मूर्तिकलातर्फ कोशीबाट टीकाराम पौडेल (शशि किरण), बागमतीबाट जुनु खनाल शर्मालाई जनही ३० हजार रुपियाँ प्रदान गरिने भएको छ ।