• ३ असार २०८१, सोमबार

उड्न खोज्दा घाइते हुन्छन् गिद्धका बचेरा

blog

घाइते गिद्धको बचेराको उद्धार गर्दै डिभिजन वन कार्यालय कपिलवस्तुको टोली । तस्बिर– जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, जेठ १३ गते । प्रकृतिका कुचीकार मानिएका विश्व दुर्लभ गिद्धका बचेरा उडान भर्न सिक्दा घाइते अवस्थामा फेला परेका छन् । लुम्बिनी प्रदेशको दाङ र कपिलवस्तुमा डंगर गिद्धका बचेरा घाइते अवस्थामा फेला परेका हुन् । 

आइतबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेबाट डङ्गर गिद्धको बचेराको उद्धार गरिएको छ । सोसियल बोर्डिङ स्कुलको नालामा खसेको अवस्थामा गिद्ध फेला परेको थियो । विद्यालयका शिक्षक जोसेफ लेप्चाले संरक्षणकर्मीलाई सूचना दिएपछि डिभिजन वन कार्यालय कपिलवस्तुको टोलीले उद्धार गरेको छ ।

शनिबार दाङको कप्तानगन्जबाट डंगर गिद्धको बचेरा घाइते अवस्थामा उद्धार गरिएको छ । यो बेलामा गिद्धको वासस्थान र आसपासका क्षेत्रमा निगरानी र अनुगमन गर्न संरक्षणकर्मीले आम सर्वसाधारणलाई अनुरोध गरेका छन् । उद्धार गरिएका दुवै गिद्ध उड्न सिक्नेक्रममा खसेको हुन सक्ने संरक्षणकर्मी चिरञ्जीवी खनालले बताउनुभयो ।

विश्वमा दुर्लभ डंगर गिद्धका बचेरा यति बेला गुँड छाडेर उडान भर्ने तरखरमा छन् । कात्तिक–मङ्सिरदेखि गुँड बनाउन सुरु गर्ने डंगर गिद्धले करिब दुई महिनासम्म ओथारो बस्छ । पुस–माघमा बच्चा कोरल्ने गिद्ध विज्ञ कृष्ण भुसालले बताउनुभयो । 

बच्चा करिब तीन महिनामा गुँड छाडेर उड्न सक्छन् । अहिले गुँड छाडेर उड्न सिक्दै गरेका बचेरा राम्रोसँग उडान भर्न नसकी रुखमा ठोक्किने वा आहार जुटाउन नसकी घाइते तथा कमजोर भएर भुईँमा झरेको अवस्थामा भेटिन्छन् ।

डंगर प्रजातिको गिद्धलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले अत्यन्त लोपोन्मुख वर्गमा सूचिकृत गरेको छ । नेपालभरि यो प्रजातिको सङ्ख्या दुई हजारभन्दा कम रहेको अनुमान गरिएको नेपाल पन्छी संरक्षण सङ्घका अधिकृत दिलीप चन्द ठकुरीले बताउनुभयो ।