• ३ असार २०८१, सोमबार

विदेशको कमाइ कृषिमा लगानी,कोभिडले बनायो कृषक

blog

धीरेन्द्रप्रसाद साह

जनकपुर, जेठ १३ गते । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ (कोरोना) का कारण वैदेशिक रोजगारीमा गएका धेरै जसो युवा घर फर्किन बाध्य भए । यसरी फकिर्नेमध्ये महोत्तरी लोहारपट्टी नगरपालिका–७, भमरपुराका दीपेन्द्र राय पनि एक हुनुहुन्छ । 

करिब १४ वर्ष वैदेशिक रोजगारमा बिताएका राय कोरोना भाइरस महामारी फैलिएका कारण घर फर्किन बाध्य हुनुभयो । वैदेशिक रोजगारीबाट फर्किएपछि फुर्सदको समयमा दीपेन्द्रले युट्युब, साथीभाइ तथा सामाजिक सञ्जालबाट विभिन्न स्थानमा गरिएको आधुनिक तथा व्यावसायिक तरकारी खेतीसम्बन्धी जानकारी बटुल्नुभयो ।  यसरी बटुलेको ज्ञान उहाँले कृषि उत्पादन क्षेत्रमा लगानी गर्नुभयो । 

विदेशबाट कमाएर ल्याएको रकम पनि कृषिकर्ममा खर्चिएर व्यावसायिक कृषि पेसा अपनाउनुभयो । उहाँले गाउँमै पौने पाँच बिघा जग्गा भाडामा र आफ्नै १५ कट्ठा गरी छ बिघा जग्गामा व्यावसायिक फलफूल तथा तरकारी खेती सुरु गर्नुभएको छ । दीपेन्द्रले २०७७ सालमा आरजे एग्रो फार्म प्रालि दर्ता गर्नुभएको हो । 

सो फार्म सञ्चालनको सम्पूर्ण जिम्मेवारी उहाँका साहिला भाइ मुकेश रायलाई दिएर कोरोना महामारी न्यून भएपछि फेरि बिदेसिनुभएको थियो । उहाँले विदेशबाटै भाइ मुकेशलाई फार्मको विस्तार, सञ्चालन, व्यवस्थापन, बजारीकरणबारे बेलाबखतमा जानकारी लिनेदिने गर्नुहुन्छ । यतिबेला कोरोनाकालमा सुरु गरेको कृषि व्यवसाय राय दाजुभाइका लागि आम्दानीको मुख्य आधार बनेको छ । 

तरबुजाले बढायो हौसला

मुकेशले सुरुमा गरेको मेवा खेतीमा टोर्नाडो (हावाहुरी) आउँदा ठुलो क्षति पुग्यो तर तरबुजा खेतीले दिएको साढे तीन लाख रुपियाँको कमाइले फार्म विस्तारमा हौसला बढाएको उहाँ बताउनुहन्छ । 

तरबुजाले उहाँको हौसला मात्र बढाएन, एउटा ब्रान्ड नै दियो । उहाँको तरबुजा ‘सरस्वती तरबुजा’ नामले प्रसिद्ध बनेको छ । उहाँले उत्पादन सिधै जनकपुर, इटहरी, विराटनगर र काठमाडाँैका खुद्रा तथा थोक विव्रmेतामा पठाउँदा अपेक्षित कमाइ गरिरहनुभएको छ । 

“कृषि उत्पादनमा बिचौलिया हाबी हुँदा किसानले उचित मूल्य पाउन साह्रै मुस्किल हुन्छ,” उहाँले थप्नुभयो, “बिचौलिया मोटाउँछ, किसान दुब्लाउँछ । त्यसैले आफैँ बजार व्यवस्थापन गर्दा खुद्रा तथा थोक व्यापारीलाई पनि फाइदा हुन्छ ।”

दैनिक आठ/नौ जनाले प्रत्यक्ष रूपमा रोजगारसमेत पाएको र फार्मको एक बिघा क्षेत्रफलमा अम्बा, १५ कट्ठामा सरिफा (सीताफल), १० कट्ठामा ड्र्यागन फ्रुट्स, १० कट्ठामा आँप, बाँकी जग्गामा तरबुजा, खरबुजा र अन्य तरकारी लगाएको जानकारी उहाँले दिनुभयो । 

बिउ पुँजी ३५ लाखमा सुरु गरेको फार्ममा पछि १५ थप गरेर ५० लाख पुगेको छ । उत्पादनको आम्दानीसमेत खेती विस्तारमा लगानी गर्दै आएकाले एक करोडभन्दा बढी लगानी भइसकेको मुकेशले बताउनुभयो । पछिल्लो तीन वर्षदेखि सोही उत्पादनबाट राम्रो कमाइ भइरहेको छ । पहिलो वर्षमा साढे तीन लाख, दोस्रो वर्षमा २५ लाख र तेस्रो वर्षमा (गत वर्ष) २८ लाखको तरबुजा र तरकारी बिव्रmी गरिएको उहाँको कथन छ । 

बिरुवामा अनुदान

उहाँले खेतीको बिउमा मधेश प्रदेश सरकारबाट अनुदान पाउनुभएको छ । कृषि ज्ञान केन्द्रले अम्बा, सरिफा, ड्र्यागन फ्रुट्स, तरबुजा, तरकारीलगायत सम्पूर्ण बिउमा अनुदान दिने गरेको छ । बिउ अनुदानले खेती कर्म गर्न धेरै नै सहज र सजिलो भएको मुकेशको कथन छ । 

आफैँ कम्पोस्ट मल उत्पादन 

खेतबारीमा सर्वत्र रासायनिक मल बढी प्रयोग भइरहेको छ । उत्पादनलाई लामो समयसम्म सड्न, गल्न नदिन र खाएपछि स्वास्थ्यमा असर नहोस् भन्ने उद्देश्यले फार्ममै कम्पोस्ट मल बनाएर प्रयोग गरिएको उहाँले बताउनुभयो ।  कम्पोस्ट मलका लागि गाईको गोबर, स्याउला र गँड्यौलाको व्यवस्थापन गरिएको छ । मल बनाउन १६ वटा बेड निर्माण गरिएको छ । प्रतिबेडमा पाँच/छ क्विन्टल मल उत्पादन हुने गरेको मुकेशको कथन छ । वैदेशिक रोजगारको कमाइ बढी मात्रामा अनुत्पादक क्षेत्रमा लगानी भइरहेका बेला मुकेश दाजुभाइले उत्पादन क्षेत्रमा लगानी गरेर उदाहरणीय काम गरेका छन् । स्थानीयले उहाँहरूको व्यावसायिक कृषि कर्मलाई सिको गर्न थालेका छन् ।