• ३ असार २०८१, सोमबार

बजेटको प्राथमिकतामा क्रिकेट

blog

काठमाडौँ, जेठ १३ गते । युवा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ का लागि क्रिकेटलाई प्राथमिकतामा राख्दै आफ्नो कार्यक्रम प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको छ । खेलकुद मन्त्रालयले प्रदेश र स्थानीय तहलाई ससर्त अनुदान उपलब्ध गराउने बजेट तथा कार्यक्रम प्रस्ताव गरेको हो । मन्त्रालयले क्रिकेटका साथै पूर्वाधार आयोजना र प्रतियोगितालाई पनि प्राथमिकतामा राखेको छ ।

मूलपानी क्रिकेट एकेडेमी तथा रङ्गशाला निर्माणका लागि ५० करोड तथा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइट्स तथा स्कोर बोर्ड जडान गर्न २० करोड रुपियाँ माग गरेको छ । यसै गरी मोरङ बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाका लागि १० करोड रुपियाँ राखिएको छ । पोखरा क्रिकेट रङ्गशाला निर्माण, धनगढी प्रादेशिक रङ्गशाला तथा कभर्ड हल निर्माण तथा मर्मत र कोहलपुर क्रिकेट रङ्गशाला तथा महिला क्रिकेट एकेडेमी निर्माण गर्न समान एक करोड पाँच लाख रुपियाँ उल्लेख गरी प्रस्ताव पेश गरेको छ । क्रिकेटमा प्रतिभा खोजका लागि पनि १७ लाख रुपियाँ माग गरिएको छ ।

क्रिकेटबाहेकका कार्यक्रम अन्तर्गत स्पोर्ट्स साइन्स ल्याब स्थापनाका लागि सामग्री खरिदमा तीन करोड र खेलाडी फिट्नेस सामग्री खरिद सातदोबाटोका लागि तीन करोड रुपियाँ प्रस्ताव गरिएको छ । त्रिपुरेश्वरस्थित बहुउद्देश्यीय कभर्ड हल स्तरोन्नति तथा सबलीकरणका लागि पनि तीन करोड रुपियाँ नै माग गरिएको छ । यसै गरी पोखरा रङ्गशालाको स्तरोन्नतिका लागि एक करोड पाँच लाख तथा दशरथ रङ्गशाला, सातदोबाटो र लैनचौरको कभर्ड हलका लागि समान एक करोड पाँच लाख रुपियाँ माग गरिएको छ । प्रदेश सरकारबाट कार्यान्वयन हुने बजेटका लागि कर्णालीमा पातारासी हाई अल्टिच्युडका लागि चार करोड रुपियाँ र दोलखाको सैलुङ्गमा तीन करोड रुपियाँ प्रस्ताव पेस गरिएको छ ।

मन्त्रालयले मिसन २०२६ विशेष प्रशिक्षणका लागि दुई करोड ५० लाख बजेट प्रस्ताव गरेको छ । इन्डोर मार्सल आर्ट्स गेम्सको तयारीका लागि दुई करोड रुपियाँ रहेको छ । यसबाहेक विभिन्न खेलका सङ्घको राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि २०–२० लाख रुपियाँ माग गरिएको छ । एसियाली ई स्पोर्ट्स प्रतियोगिताका लागि ५० लाख राखिएको छ । पेरिस ओलम्पिक सहभागिता व्यवस्थापनका लागि ९० लाख रुपियाँ राखिएको छ ।

ओलम्पियन खेलाडीको भत्ता ५० लाख रुपियाँ छ । अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई मासिक भत्ता एक करोड ७८ लाख तथा खेलाडी दुर्घटना विमामा ५० लाख रुपियाँ माग गरिएको छ । यसैगरी प्रायः सबै जसो खेलको प्रतियोगिता आयोजना गर्न पनि प्रस्ताव पेस गरिएको छ ।