• १६ भदौ २०८१, आइतबार

एनएमजिसीमा सुदीप अध्यक्ष र रूपसिं महासचिव

blog

एनएमजिसीका निर्वाचित पदाधिकारीहरु ।

काठमाडौँ, जेठ १२ गते । नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासङ्घ (एनएमजिसी) को तेस्रो महाधिवेशनले  शनिबार १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

चावहिलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुदीप पण्डित क्षेत्री र महासचिवमा रूपसिं तामाङसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । महासचिव रूपसिंह आइटिएफका खेलाडी हुँदै पूर्वपदाधिकारी पनि हुनुहुन्छ । 

महाधिवेशनमा २३ राष्ट्रिय सङ्घको सहभागिता रहेको थियो । यही सङ्घहरूको छाता संगठन नै एनएमजिसी हो । महाधिवेसनले वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी, उपाध्यक्षमा अन्जु रावत, एनिप महर्जन र केशव डङ्गोललाई निर्विरोध चयन गरेको छ ।

सचिवमा कृष्णगोपाल राजथला र कोषाध्यक्षमा तुलसी थापामगर सर्वसम्मत चयन हुनुभयो । सदस्यहरूमा कृष्णबहादुर रावत, जनकराज गौतम, सानुकान्छा श्रेष्ठ, कमल मगर र सीताराम दराई चयन हुनुभयो । 

सोही निर्वाचित कार्यसमितिको पहिलो बैठकले तीन पदाधिकारीसहित १० जना मनोनित पनि गरेको छ । उपाध्यक्षमा होमबहादुर सुनुवार, राजेन्द्र लामा र सचिवमा आशिष कार्की मनोनित हुनुभयो ।

सदस्यमा तेजबहादुर सिंह, सपूत मोक्तान, धनराज तामाङ, बाबुराम तामाङ, सुशान पुन, नहकुल राई र राजन पन्थ मनोनित हुनुभयो । यससँगै कार्यसमिति २३ सदस्यीय बनेको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले महाधिवेशनको उद्घाटन गर्नुभएको थियो ।