• १० मंसिर २०८१, सोमबार

साहित्यको सैद्धान्तिक व्याख्या

blog

वैचारिक लेखन तथा प्राध्यापन क्षेत्रमा क्रियाशील टीकाबहादुर बस्नेतले ‘माक्र्सवाद र उत्तर आधुनिकतावाद’ मार्फत नेपाली साहित्य समाजले हाल खेपिरहेको वैचारिक रिक्तता र शून्यताको तलाउमा ढुङ्गा फ्याँकेका छन् । वैचारिक रूपमा शिथिल र दिग्भ्रमित देखिने नेपाली साहित्यका जटिल मोडहरू पहिल्याउँदै प्रगतिशील लेखनलाई नै अन्तिम निष्कर्षमा पु¥याएका छन् । माक्र्सवादी दृष्टिचेतनाबाट नेपाली साहित्यको साङ्गोपाङ्ग विश्लेषण गरिएको यो पुस्तकले नेपाली समाज र साहित्यको सैद्धान्तिक मनोदशालाई माक्र्सवाद र उत्तरआधुनिकतावादको तराजुमा अध्ययन गरिएको छ । 

मूलतः दर्शन र समालोचना गरी दुई विधामा नेपाली समाज र साहित्यको व्याख्या गरिएको छ । दर्शनको प्रारम्भिक ज्ञान, माक्र्सवाद र उत्तरआधुनिकतावादबारे गहन विमर्शका साथै दर्शन र राजनीतिक पारिभाषिक शब्दहरूको सङ्क्षिप्त विश्लेषण दर्शन खण्डका अध्यायहरू हुन् । समालोचना अन्तर्गत मूलतः नेपाली राजनीतिक परिवर्तनमा प्रगतिवादी कविताको भूमिकाको खोज महìवपूर्ण छ भने प्रगतिवादी कवि नेत्रलाल अभागीको कवितायात्रा र प्रवृत्तिको गहन विश्लेषण र प्रगतिवादी नेपाली कवितामा ध्वनिको खोज निकै सान्दर्भिक अध्यायहरू हुन् । 

जीवन र जगत्लाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण दर्शन हो । सोही अनुरूप धारणा निर्माण र जीवन व्यवहारलाई निर्धारण गर्न दर्शनले भूमिका खेल्छ । जगत्मा आदर्शवाद र भौतिकवाद यी दुई दार्शनिक सिद्धान्तमाथि लम्बेतान विमर्श जारी छ । विश्व ब्रह्माण्ड ईश्वर, परमात्मा वा अदृश्य शक्तिबाट पैदा भएको चेतना वा आत्मालाई सृष्टिको आदितŒव मान्ने र संसारलाई अपरम्पार र अबोधगम्य ठान्ने दर्शन अध्यात्मवाद हो भने पदार्थलाई सृष्टिको आदिम रूप र चेतनालाई पदार्थको विशिष्ट गुण मान्ने दर्शन भौतिकवाद हो । यसले संसारलाई बुझ्न, विश्लेषण गर्न र रूपान्तरण अर्थात् बदल्न सकिन्छ, भन्छ । 

आदिम साम्यवादी समाजको अन्त्य र दासयुगको आरम्भपछि पक्षधरता निर्माण भयो । वर्गीय भेदले निर्माण गरेको सर्वहारा वर्गको व्रmान्तिमार्फत वैज्ञानिक समाजवाद निर्माण गर्न सकिन्छ भन्ने दृष्टिकोण नै माक्र्सवादी दर्शन हो । यसले उत्पादनमाथिको वैयक्तिक अधिकारको निषेध गर्छ । श्रमजीवी, सर्वहारालाई व्रmान्तिका माध्यमबाट मुक्ति र स्वतन्त्रता प्राप्त एवं सत्ता निर्माण गर्न सकिन्छ भन्ने मान्यता राख्छ । श्रम, उत्पादकत्व र आर्थिक विकासमा पुँजीवादको प्रभावको विश्लेषण गर्छ । माक्र्सवादले सामाजिक वर्गहरूबिचको सङ्घर्ष र पुँजीवादी अर्थतन्त्रमा आर्थिक सम्बन्धको परिभाषा निर्माण गर्छ र साम्यवादको परिकल्पना गर्छ । 

पुँजीवादले उत्तर पुँजीवादमा प्रवेश पाएपछिको जुन स्वरूप निर्माण हुन्छ, त्यसलाई उत्तरआधुनिकतावाद भनेर बुझिन्छ । यसलाई हजारौँ परिभाषामा परिभाषित गर्न खोजिए पनि उत्तरआधुनिकतावाद मूल रूपमा आधुनिकतावादको विरुद्ध विकास भएको मान्यता हो । यसको परिभाषामा विद्वान्हरूबिच मतैक्य पाइँदैन । कतिले यसलाई माक्र्सवादकै समानान्तरवादका रूपमा व्याख्या गरेको पनि पाइन्छ तर लेखकले पुस्तकमा पर्याप्त तर्क र तथ्यसहित माक्र्सवाद र उत्तरआधुनिकतावादविपरीत सिद्धान्त भएको पुष्टि गरेका छन् । नित्सेको ईश्वर मृत्युको घोषणासँगै निराशावादी दृष्टिकोणको पृष्ठभूमिबाट आरम्भ भएको यो सिद्धान्तज्याक डेरिडाको भ्रम, भिन्नता र विखण्डनको सिद्धान्तले मौलाउने मैदान दियो । ल्योतार्डको महाख्यानको अन्त्यको घोषणासम्म आइपुग्दा यो क्वाँटी सिद्धान्तमा परिणत भइसकेको थियो । हाल उत्तरआधुनिकतावाद सूचना सञ्जाल निर्माण गर्दै विश्वव्यापी छ । घर घरमा भित्रिएको छ । यसले विशेष गरी सहरी समाजका प्रायः सबै क्षेत्रलाई स्पर्श गरेको छ । 

नेपालमा उत्तरआधुनिकतावादमाथि विमर्शको सिलसिला त्यति लामो पाइँदैन । नेपालमा उत्तरआधुनिकतावादको खास बहस दर्शन र साहित्यको क्षेत्रमा बढी हुने गरेको पाइन्छ । साहित्यमा यसको प्रभाव बलियो बन्दै गए पनि यसप्रति समालोचनात्मक दृष्टिकोणबाट प्रशस्त अध्ययन हुन बाँकी नै छ । कवि, लेखक, कलाकारले सिर्जनामा सामाजिक यथार्थबोध निर्माण गर्न नसकेर भावनात्मक चिन्तनमा अलमल गर्नु, चरम निराशा, आत्मपरकता एवं कुण्ठाग्रस्त अभिव्यक्तिहरूलाई लेखनका माध्यमबाट व्यक्त गर्न खोज्नु उत्तरआधुनिकतावादलाई स्पष्ट प्रश्रय दिनु हो । लेखक÷कलाकारहरू प्रगतिशील मूल्यमान्यता, विचारधाराबाट विचलित हुनुको मूल कारण उत्तरआधुनिकतातर्फको आकर्षण प्रमुख मानिन्छ । आज प्रगतिशील विचारधारा अँगालेर कलम चलाउने लेखकहरूले समाज र सिद्धान्तको मृत्युको परिकल्पना गर्दै साहित्य निर्माण गरेका उदाहरण छन् । लेखनमा निर्बाध स्वतन्त्रता र विधागत अस्पष्टतामा निर्माण भएको साहित्य अकविता, अनाटक, अउपन्यासले व्रmमशः मूल्य गुमाउँछ । सार्वभौम अस्तित्वको निरन्तर विखण्डन र विघटनमार्फत यसको अस्तित्व नै सामान्यीकरण गर्ने वैचारिकता नै आजको नेपाली साहित्यले भोगिरहेको उत्तरआधुनिकतावादको कुरूपता हो । विधा सिद्धान्तको अस्वीकृति, सत्यको बहिष्कार, अर्थहीनता, प्रयोगगत नवीनता, अर्थगत बहुलता, पतनको सन्दर्भबाट साहित्यलाई हेर्ने दृष्टिकोणलगायतका विशेषतासहित नेपाली साहित्यमा यसले सैद्धान्तिक आधार निर्माण गरिसकेको पाइन्छ ।

माक्र्सवाद र उत्तरआधुनिकतावादको सङ्क्षिप्त विश्लेषण गरेको पुस्तकले सम्पूर्ण तर्क र तथ्यगत पूर्णता हासिल गरेको छ । माक्र्सवादी विचारधाराको अध्ययन, बहस र प्रयोग गर्ने नवपाठकका लागि यो पुस्तक छनोट बन्न सक्छ । तर यसले आधुनिकतावादको व्याख्या नगरी सिधै उत्तरआधुनिकतावादको विश्लेषण गर्छ । समाजसँगको अन्तर्सम्बन्ध र विपरितार्थ पृष्ठभूमिको अभाव  छ । उत्तरआधुनिकतावादबारे बहस गर्दा उत्तरउपनिवेशवाद, उत्तरसंरचनावाद र भूमण्डलीकरणको चर्चा नगरी यसको कोर्स पूरा हुँदैन । यो किताब सङ्क्षिप्त भएका कारण भने माक्र्सवाद र उत्तरआधुनिकतावादका सहायक तर अन्य गम्भीर विषयमा प्रवेश गरेको छैन । समग्र पाटाहरूको उत्खनन गर्न भ्याएको छैन । नत्र राजनीतिक निराशाको अभिव्यक्तिका रूपमा काम गर्दै आएको उत्तरआधुनिकतावादले माक्र्सवादको विरोध गर्नुलाई प्राथमिकतामा राख्छ । पुँजीवादी र साम्राज्यवादी अर्थतन्त्रलाई सुदृढ बनाउन नवउदारवादी आदर्शको रूप निर्माण गर्छ । यसले नेपाल जस्ता मौलिक सिद्धान्तमा आधारित संस्कृतिलाई क्षतविक्षत बनाउन सांस्कृतिक साम्राज्यवादको उपकरणका रूपमा काम गर्ने गर्छ । 

नेपाली कविता लेखनमा माक्र्सवादी चिन्तनको प्रयोग र यसको विकासव्रmममा उत्तरआधुनिकतावादको प्रवेश पुष्टि गर्न नेपाली राजनीतिक परिवर्तनमा प्रगतिवादी कविताको भूमिका अध्यायले मद्दत गरेको छ । राजनीतिक परिवर्तनसँगसँगै आर्थिक विकास, श्रमजीवी, मजदुरको वर्गचेत निर्माण र उत्पीडितको मुक्तिका लागि नेपाली कविताले ठिक ठिक कालखण्डमा बलिया सिर्जनाले काम गरेका छन् । नेपाली समाज रूपान्तरणमा प्रगतिवादी धारा नै मूल धाराका रूपमा पुस्तकले व्याख्या मात्र गरेको छैन, त्यसलाई पुष्टि गर्ने आधारहरू पनि प्रस्तुत गरेको छ । प्रगतिवादी कवि नेत्रलाल अभागीका कवितायात्रा र प्रवृत्तिले त्यसको पुष्टि गर्ने सामथ्र्य राख्छ । राजनीतिक तथा सामाजिक रूपान्तरणमा प्रगतिवादी कविताको हैसियत मापन गर्दा अभागीका कविताको सामथ्र्य जाँच गरे पुग्छ । लेखकले मूलतः अभागीको दुई कृति ‘सतिसाल मात्र ठिङ्ग उभिन सक्छ’ (२०४२) र ‘वर्गप्रेम’ (२०६२) माथि विश्लेषण गरेका छन् । वर्गीय समाजमा विचार पनि वर्गीय हुन्छ । भावनात्मक अभिव्यक्तिको अन्तर्राष्ट्रिय मूल्यमा सर्वहाराको दृष्टि चेतनाले हेरिएका अभागीका कविताले वैश्विक रूपमा आह्वान गरेका तर्कहरू केलाइएका छन् । कवितामा वर्गमित्र र सहिदप्रतिको असीम श्रद्धा, वर्गप्रेम र आशावादी स्वरसहित व्रmान्तिको उद्घोषको सपाट विश्लेषण छ भने वर्ग विचलनप्रति कवितामा व्यक्त तीव्र घृणाका हरफहरू छुट्याइका छन् । अभागीका कविता मुलुक परिवर्तनका अस्त्र थिए । राजनीतिक अनुशासनका शास्त्र थिए । अभागीका सङ्ग्रहले निर्माण गरेको निष्कर्षलाई लेखकले वर्ग पक्षधरता, वर्ग प्रतिबद्धता र वर्गसङ्घर्ष भनेका छन् । 

आजको लडाइँ के हो भने उत्तरआधुनिकतावादलाई परास्त गर्दै प्रगतिशील विचारधाराको लेखन, चिन्तन र निरन्तर अभ्यास हो । कुनै पनि आन्दोलनले वैचारिक मार्ग निर्माण गर्न सकेन भने प्राप्त उपलब्धिको विघटन निश्चितप्रायः हुन्छ । माक्र्सवादको वैज्ञानिक सान्दर्भिकताबाट अल्मलिएर उत्तरआधुनिकतावादको अवैज्ञानिक मान्यतामा प्रवेश गरेको नेपाली साहित्यको व्याख्या हो– ‘माक्र्सवाद र उत्तरआधुनिकतावाद ।’