• ३ असार २०८१, सोमबार

‘खेल पत्रकारिता शोध तथा अनुसन्धानमा केन्द्रित हुन जरुरी’

blog

काठमाडौँ, जेठ १२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेल पत्रकारिता शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को १९औँ वार्षिक साधारण सभाको शुक्रबार उद्घाटन गर्दै सदस्य सचिव घिसिङले पत्रकारिताको आयाम फेरिरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो,‘‘खेल पत्रकारले खेल जगतलाई दीर्घकालिन प्रभाव पार्न सक्ने समाचारमा ध्यान दिनु जरुरी छ । खेलकुद पत्रकारिता पनि शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्छ ।’’

नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले नेपाली खेलकुदमा नयाँ खेलाडी उत्पादन हुनु जरुरी रहेको भन्दै लामो समय एकै खेलाडीले कब्जा जमाउनु खेलकुदको विकास नहुनुको सुचक रहेको बताउनुभयो । 

यस्तै नेपाल पौडी सङ्घका नवनिर्वाचित अध्यक्ष जगतमान श्रेष्ठले मञ्चबाट अन्य खेलसङ्घले पनि संस्था कसरी अगाडि बढाउनुपर्छ भन्ने सिक्न जरुरी रहेको घारणा राख्नुभयो । 

बन्द सत्रमा एनएसजेएफ अध्यक्ष दुर्गानाथ सुवेदीले मञ्चले आगामी भदौमा एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस एसिया) को कंग्रेस नेपालमा आयोजना गर्ने विषयको प्रस्तावलाई सर्वसम्मतले स्वागत गरिएको थियो ।

बन्द सत्रमा महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र मञ्चको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो ।