• १२ मंसिर २०८१, बुधबार

जनता आवास कार्यक्रमका घर उपयोगविहीन

blog

राधा नेपाली 

सन्धिखर्क, जेठ ११ गते । भूमिहीन, सुकुमवासी तथा प्रकोपबाट पीडित भई घरबारविहीन परिवारका लागि निर्माण भएका घरमा बस्न स्थानीयले रुचि नदेखाएपछि करोडौँका घर उपयोगविहीन भएका छन् । 

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका १० वटा घरमध्ये छ घर एक वर्षदेखि खाली छन् । स्थानीय सरकारसँगको समपूरक बजेटको ५० र पालिकाको ५० प्रतिशत बजेटमार्फत चार करोड रुपियाँ लगानीमा ती घर निर्माण भएका हुन् । 

प्लास्टर गरिएका सुविधासम्पन्न घरमा पानी, बत्ती र शौचालयको व्यवस्था छ । सबै घरमा सोलार जडान गरिएको छ । हरियाली वातावरण र खुला ठाउँमा घर निर्माण भएका छन् । साना चिटिक्क र रङरोगन गरिएका घर हेर्दा निकै आकर्षक छन् । छत्रदेव गाउँपालिका–६, चौवाहामा ४२ रोपनीमा घर निर्माण भएका छन् । घरसहित दुई रोपनी जग्गा उपलब्ध गराउने व्यवस्था भए पनि उक्त व्यवस्था कार्यान्वयन हुन सकेको छैन । 

सुकुमवासी भए पनि आफ्नै घरमा बस्न रुचाउने भएकाले स्थानीयले खासै रुचि नदेखाएको वडा नम्बर ६ का वडाध्यक्ष कमलप्रसाद पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छेहरू आफू बसेको घर झट्ट छोड्न नमान्दा रहेछन् । सुकुमवासी भए पनि घर छोड्न गाह्रो हुँदो रहेछ । मापदण्डमा परेका परिवार निःशुल्क बस्न पाउँछन् । नेपाल सरकारको भूमिहीन सुकुमवासी र आवासविहीनलाई जग्गा  र बास उपलब्ध गराउने संवैधानिक व्यवस्था अनुसार घर र जग्गा उपलब्ध गराइन्छ ।”

दुई वटा कोठा र एउटा भान्साकोठासहितको घरमा छ सदस्यसम्मको परिवार बस्न मिल्छ । छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले भन्नुभयो, “मापदण्ड नपुगेका कारणले पनि घर बस्न आउनु भएको छैन । मापदण्ड पूरा हुन नसकेकालाई बसाल्ने कुरा भएन । उहाँले प्राकृतिक प्रकोपबाट पीडित भई घरबारविहीन भएकालाई पनि समेट्ने प्रयास गरेको र यो कार्यक्रम प्रभावकारी हुन्छ भन्ने विश्वास गरेको बताउनुभयो ।