• २ असार २०८१, आइतबार

गोरखापत्रमा फोटो पत्रकारिता सन्दर्भको चर्चा

blog

त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागका सह–प्राध्यापक डा. कुन्दन अर्याललाई मायाको चिनो प्रदान गर्नुहुँदै गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी तथा गोरखापत्र दैनिक र राइजिङ नेपालका प्रधान सम्पादक । तस्बिर : कविन अधिकारी

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १० गते । त्रिभुवन विश्वविद्यालयको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग अन्तर्गतको एमफिल–पिएचडीका प्रोफेसर तथा विद्यार्थीले गोरखापत्रमा राखिएको फोटो प्रदर्शनीको अवलोकन तथा छलफल गर्नुभएको छ । 

वैशाख १३ देखि सुरु भएको फोटो प्रदर्शनीको आज केन्द्रीय विभागका विद्यार्थीले अवलोकन गर्नुभएको हो । सो अवसरमा गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले गोरखापत्र नेपाली पत्रकारिताको मानक भएको चर्चा गर्नुहुँदै ऐतिहासिक तस्बिर प्रदर्शनीले नेपालको ऐतिहासिक तस्बिर सबैसामु राखेको बताउनुभयो । 


संस्थानसँग रहेका हरेक चिज पब्लिक प्रोपर्टी भएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “गोरखापत्रको हरेक अङ्कलाई समयको मागअनुसार डिजिटलाइज्ड गर्ने काम सुरुभएको छ, यसका लागि त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयसँग समन्वय र सहकार्य गरी काम गरिरहेका छौँ ।” गोरखापत्रको सबै प्रकाशनलाई बढीभन्दा बढी नागरिकसमक्ष पुगाउन संस्थानले निरन्तर प्रयास जारी राखेको उहाँले चर्चा गर्नुभयो । 

त्रिभुवन विश्वविद्यालयको सह-प्राध्यापक डा. कुन्दन अर्यालले गोरखापत्र र यसका प्रकाशनहरू आफैमा इतिहास भएकाले यसले गर्ने विषयको उत्पादन पाठकका लागि सम्पत्ति भएको बताउनुभयो । नेपाली पत्रकारिताको इतिहास गोरखापत्रविना अधुरो रहेको भन्नुहुँदै उहाँले तस्बिर प्रदर्शनी संस्थानको राम्रो काम भएको चर्चा गर्नुभयो । 


वरिष्ठ पत्रकार तथा सिनेमेटोग्राफर मञ्जुकमार श्रेष्ठले फोटो पत्रकारिताका विविध आयामबारे चर्चा गर्नुभएको थियो । उहाँले पत्रकारितामा फोटो लिने विषय खतरापूर्ण र रमाइलो पनि भएको चर्चा गर्नुभयो । पत्रकारले तस्बिर लिँदा अपनाउनुपर्ने सतर्कता र फोटोको महत्वबारे चर्चा गर्नुभयो । 

गोरखापत्र फोटोग्राफी शाखाका प्रमुख राम हुमागाईँले फोटो प्रदर्शनीको आवश्यकता र औचित्यबारे जानकारी गराउनुभयो । उहाँले गोरखापत्रले फोटोको माध्यमबाट गर्दैआएको योगदानको संक्षेपमा चर्चा गर्नुभयो । वि.सं. २०३० देखि २०६० सम्म गोरखापत्र फोटो पत्रकारले खिचेका तस्बिरहरू प्रदर्शनीमा राखिएको उहाँले जानकारी गराउनुभयो ।   

सो अवसरमा संस्थानका महाप्रबन्धक ऐरीले प्राध्यापक डा. अर्याललाई मायाको चिनोको रूपमा गोरखापत्रको पहिलो अङ्क हस्तान्तरण गर्नुभयो । छलफल कार्यक्रममा गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराई, दि राइजिङ नेपालका निमित्त प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्र दैनिकका प्रबन्ध सम्पादक जुनारबाबु बस्नेतलगायतको सहभागिता थियो । 


एमफिल–पिएचडीका पहिलो सेमेस्टरका करिब २२ जना विद्यार्थीको सो अवसरमा उपस्थिति थियो । उहाँहरूले फोटो प्रदर्शनीको अवलोकन गर्दै गोरखापत्रले ऐतिहासिक तस्बिर प्रदर्शन गरी इतिहासलाई जीवन्त बनाउने काम गरेको प्रतिक्रिया दिनुभयो । फोटो प्रदर्शनी जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।