• २ असार २०८१, आइतबार

कालिगण्डकी स्टिम्मरमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने

blog

अर्जुन काफ्ले

स्याङ्जा, जेठ १० गते । कालिगण्डकी नदिका चल्ने स्टिम्मरमा गण्डकी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता यही जेठ १२ र १३ गते हुने भएको छ । प्रदेश खेलकुद परिषद् र कालिगण्डकी गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश बुद्धिचाल सङ्घ कास्कीको व्यवस्थापनमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता हुने भएको हो ।

बिहीबार वालिङमा प्रतियोगिताको विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारीले रेटिङ प्रतियोगिता हुने र प्रदेशको सबैभन्दा ठुलो रहेको दाबी गर्नुभयो । ११ जिल्ला र आयोजक काली गण्डकीलाई एक जिल्ला मानी १२ वटा जिल्लाका दुई पुरुष तथा दुई महिला गरी ४८ जनाको सहभागिता रहने छ । प्रतियोगितामा पुरुषतर्फ सात राउण्ड र महिला तर्फ पाँच राउण्मा हुने छ । 

प्रतियोगितामा महिला पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय हुनेले समान ७ हजार, ५ हजार र ३ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगितामा बाहिरी जिल्लाका खेलाडीलाई यातायातको सुविधा, दैनिक भत्ता प्राप्त गर्नेछन् । विजेताले देशभरिका प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने भण्डारीले बताउनुभयो । गाउँपालिका अध्यक्ष खिम थापाले धार्मिक महत्वको कालीगण्डकी र ऐतिहासिक जलयातायात स्टिम्मर सेवाको संरक्षण तथा संवर्द्धनमा यो प्रतियोगिताले सहयोग पुग्ने अपेक्षा गर्नुभयो । 

देशकै पहिलो जलयातायत स्टिम्मर सेवाको विशेष महत्त्व रहेको भन्दै यो महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउन यो प्रतियोगिता कोशे ढुङ्गा साबित हुने उहाँको विश्वास थियो । प्रतियोगितामा छ लाख खर्च हुने अनुमान आयोजक समितिले गरेको छ ।