• २ असार २०८१, आइतबार

राजस्थानसँगको हारले बाहिरियो आरसिबी

blog

इलिमिनेटर खेलमा प्रतिस्पर्धा गर्दै राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, जेठ १० गते । इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग हारेपछि रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिएको छ । 

अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा बुधबार राति भएको इलिमिनेटर खेलमा आरसिबी राजस्थान रोयल्ससँग चार विकेटले पराजित भयो । 

जितसँगै राजस्थानको फाइनल खेल्ने सम्भावना रहेको छ । दोस्रो क्वालिफायरमा राजस्थानले हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा हैदराबाद कोलकत्तासँग पराजित भएको थियो । दुई टोलीबिचको विजेताले आइतबार फाइनलमा कोलकत्तासँग खेल्नेछ । 

जितका लागि आरसिबीले दिएको एक सय ७३ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । राजस्थानका लागि ओपनर जशस्वी जैसवालले सर्वाधिक ४५ रन बनाउनुभयो । रियान परागले ३७, टिम कोहलेरले २०, सिमोन हेटमायरले २६, कप्तान सन्जु सामसनले १७ र रभमन पावेलले १६ रन बनाउनुभयो । 

बलिङमा आरसिबीका मोहम्मद सिराजले दुई विकेट लिनुभयो । लोकी फर्गिसन, करण शर्मा र क्यामरोन ग्रनिले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो । 

आरसिबीको लागि लागि रजत पटिदारले ३४, विराट कोहलीले ३३, माहिपल लोमरोरले ३२, क्यामरुन ग्रीनले २७ र कप्तान फाफ डु प्लेसिसले १७ रन बनाउनुभयो । बलिङमा राजस्थानका आभेस खानले सर्वाधिक तीन विकेट लिनुभयो । रविचन्द्रन आश्विनले दुई तथा ट्रेन्ट बोल्ट, सन्दीप शर्मा, युजभेन्द्र चहलले एक एक विकेट लिनुभयो । एजेन्सी