• १२ पुस २०८१, शुक्रबार

विस्थापितलाई गाउँमै स्थापित गर्न चाहेका छौं

blog

तिलबहादुर थापा अध्यक्ष, देवघाट गाउँपालिका

देवघाट गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण छ । समस्त हिन्दु धर्मावलम्बीको पवित्रस्थल देवघाटधाम यसै पालिकामा पर्छ । शान्ति र आध्यात्मिक उन्नयनका लागि अति महत्वपूर्ण क्षेत्रका रूपमा रहेको यो पालिकालाई कालीगण्डकी, त्रिशूली, सेती, मादीजस्ता नदीले सिञ्चित गरेका छन् । जैविक विविधताका दृष्टिले पनि यो पालिका धनी छ । तनहुँ जिल्लाका साबिक कोटा, बैदी, छिपछिपे र देवघाट गाउँ विकास समितिलार्ई समायोजन गरी देवघाट गाउँपालिका गठन गरिएको हो । यो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तिलबहादुर थापा निर्वाचित हुनुभएको छ । गाउँपालिका अध्यक्ष थापासँग गोरखापत्रका पत्रकार अमरराज नहर्कीले गर्नुभएको कुराकानी :  

तपाईं निर्वाचित भएपछि देवघाट गाउँपालिकामा के परिवर्तन भयो ?

एकीकृत शिक्षा कार्यक्रम चलिरहेको छ । किसानको परम्परागत कृषि प्रणालीलाई प्रवर्धन र दिगो बनाउन अभियान आरम्भ गरिएको छ । सेवाग्राहीलाई वडाबाटै सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाइएको छ । योजनाको अनुगमनलाई चुस्तदुरुस्त गर्ने व्यवस्था भएको  छ । सडक सञ्जाललाई निरन्तर स्तरोन्नति गरिँदै लगिएको छ । हामी हाम्रो पालिकाको आर्थिक, सामाजिक र शैक्षिक पक्ष सबल बनाउन अघिबढेका छौँ । 

काम गर्दा चुनौतीको सामना गर्नु परेको छ ? 

स्पष्ट कानुनको अभावमा योजना कार्यान्वयनमा समस्या पर्ने गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारक्षेत्र बाझिएको हुनाले निर्णयमा समस्या परेको हो । बजेट विनियोजन गर्दा नेतृत्वले पहुँचका आधारमा आफ्नो ठाउँलाई हेर्ने गरेकाले जे जति विकासको काम गर्नुपर्ने हो बजेट अभावले त्यो हुन सकेको छैन । बजेट विनियोजन गर्दा सङ्घ र प्रदेश सरकारले पालिकासँग समन्वय नगर्दा समस्या हुने गरेको छ । पहुँचको आधारमा आफ्नो तालले बजेट पार्दा र महìव कुन भन्ने कुरामा ध्यान पुग्न नसक्दा समानुपातिक तरिकाबाट विकास गर्न कठिन भएको छ । 

कृषकलाई सहजीकरण गरिरहनुभएको छ ? 

भर्खर मात्रै सडक सञ्जालले ग्रामीण भेगलाई जोडेको छ । दिगो सडक निर्माण भइनसकेकाले लक्ष्य अनुसार स्थानीयले लाभ पाउन सकेका छैनन् । तथापि ग्रामीण भेगमा उत्पादन भएको कृषिजन्य उत्पादन बजारका उपभोक्तासम्म पु¥याउन सफल भएको अवस्था छ । यसलाई अझै छिटोछरितो बनाउने प्रयासमा छौँ । पालिकाभित्र भौगोलिक र प्राकृतिक मात्र नभई राजनीतिक, सामाजिक विविधता पनि छ । यसलाई सन्तुलन गरेर आय वृद्धि गरी गाउँपालिकावासीको सेवामा इमानदारीपूर्वक लागिपरेका छौँ । किसानको उत्पादन बिक्री पालिकाको सीमाभित्र मात्रै हुँदैन । अन्य प्रदेशसँग पनि सहकार्य आवश्यक हुन्छ । यसलाई हामीले गम्भीर रूपमा हेरेका छौँ । नगरपालिकाको स्रोत, साधनको अधिकतम सदुपयोग गरी कृषि उत्पादन बढाउन लागेका छौँ । 

नयाँ शैक्षिक कार्यक्रम पनि ल्याउनुभयो कि ?  

शिक्षा योजना निर्माण गरी एकीकृत शिक्षा कार्यक्रम योजना लागु गरिएको छ । शिक्षा, स्वास्थ्य र कृषिलाई समेटिएको छ । व्यावहारिक शिक्षालाई जोड दिँदै पढ्दै कमाउँदै गर्ने नीतिलाई अगाडि सारिएको छ । स्थानीय पाठ्यक्रममा यस विषयलाई समावेश गरी लागु गर्ने योजना छ । अन्य पक्षमा सङ्घ र प्रदेश सरकारको नीति अनुरूप नै काम गरिरहेका छौँ । 

मुख्य भावी योजना कसरी बनाउनुभएको छ ? 

बढी महत्वाकाङ्क्षी योजना पूरा नहुन सक्छन् । त्यसैले कृषि र पर्यटन प्रवर्धन गर्ने हाम्रो प्रमुख योजना छ । सांस्कृतिक र सामाजिक परम्परालाई जीवनोपयोगी पेसामा परिवर्तन गर्न कार्यक्रम ल्याउने छौँ । बालबालिकाका लागि विद्यालयको आधारभूत तहदेखि नै आधारभूत प्राविधिक शिक्षा कार्यव्रmम ल्याउने योजना बनाएका छौँ । ग्रामीण सडक सञ्जाललाई स्तरोन्नति गरी दिगो बनाउने र परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्ने सोच बनाएका छौँ । खासमा गाउँबाट विस्थापित भएकालाई गाउँमै स्थापित गर्ने सम्बन्धमा अध्ययन गरेका छौँ । 

प्रसिद्ध धार्मिक स्थल देवघाटको प्रवर्धनका लागि काम भएको छ ?

देवघाटलाई धार्मिक पर्यटनका रूपमा विकास गर्न वेणी सङ्गमदेखि छरछरे झरना हुँदै पालुराजाको मन्दिर घण्टाचुली हुँदै प्याउलीगढी सिञ्चाङगढीसम्म आवश्यक पदमार्ग र पूर्वाधार निर्माण भइरहेको छ । बजेटको अभावका कारण कामको गति सुस्त छ । त्यसैले उपलब्धि देखिन सकेको छैन । 

सुशासनका लागि कस्ता काम गर्नुभएको छ ?  

जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासमा जोड दिइएको छ । सम्पन्न भएका कामहरूको सार्वजनिक सुनुवाइ गरिएको छ । अनुगमनलाई प्रभावकारी रूपमा अगाडि बढाइएको छ । वडास्तरबाटै सेवाग्राहीलाई सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

यहाँको सम्भावनाका क्षेत्रको विकास कसरी गर्दै हुनुहुन्छ ? 

देवघाट गाउँपालिका तीनतिर नदीले घेरिएको विकट भूगोल हो । भिरालो जमिन र सीमित टारको भूगोल भएको यस पालिकामा पर्यापर्यटनको बढी सम्भावना छ । कृषिमा सुन्तला, कागती, लिचीलगायतका फलफूलको बढी सम्भावना देखिन्छ । यस क्षेत्रमा स्वच्छ हावापानी र प्राकृतिक, धार्मिक, सांस्कृतिक र सामाजिक सम्पदा धेरै भएकाले पर्यटन र कृषिको माध्यमबाट विकास गरी समृद्धिको सम्भावना छ ।  भविष्यमा कृषि र पर्यटनको माध्यमबाट रोजगारी सिर्जना गर्न प्राथमिकता दिएका छौँ । देवघाटका सबै राजनीतिक दल, सङ्संस्थाबाट साथ र सहयोग प्राप्त भइराखेको छ । सबै जना मिलेर अघि बढ्न सकियो भने देवघाटको विकास गर्न सकिन्छ ।