• २२ वैशाख २०८१, शनिबार

पाल्पामा सत्ता साझेदारदलद्वारा उम्मेदवार बाँडफाँड

blog

रामपुर (पाल्पा),  वैशाख ११ गते । पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ ।

कांग्रेसले रामपुर र तानसेन नगरपालिका सहित निस्दी , माथागढी, बगनासकाली र रैनादेवी छहरा गाउँपालिकामा प्रमुख , माओवादी केन्द्रले  तिनाउ  र रिब्दीकोट गाउँपालिका तथा एकीकृत समाजवादीले पूर्वखोला  र रम्भा गाउँपालिकामा अध्यक्ष पाएको जनाइएको छ ।  कांग्रेसका पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा भागबण्डाको टुङ्गो लगाएको जानकारी दिनुभयो । 

उहाँका अनुसार कांग्रेसको भागमा उपप्रमुख–उपाध्यक्ष पदका लागि रामपुर नगरपालिका, पूर्वखोला, रम्भा, माथागढी , तिनाउ र रिब्दीकोट गाउँपालिका परेको छ । यसैगरी माओवादी केन्द्रको भागमा निस्दी , रैनादेवी छहरा र तानसेन नगरपालिका  परेको भने एकीकृत समाजवादीको उपाध्यक्ष पदका लागि बगनासकाली गाउँपालिका परेको छ ।

फुटबल सङ्घको अध्यक्षमा राणा विजयी 

जिल्ला फुटबल सङ्घ पाल्पाको अध्यक्षमा प्रणयविक्रम राणा विजयी हुनुभएको छ । निर्वाचनमा उहाँ आफ्नो निकटतम् प्रतिद्वन्द्वी मनोहर थापालाई छ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

पन्ध्र मत रहेको  जिल्ला फुटबल सङ्घको  उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय, कृष्ण सारु मगरले नौ–नौ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

 महिला सदस्यमा युकी गाहा विजय हुनुभएको छ । सदस्यमा अनिष श्रेष्ठ, दीपेन्द्र खनाल, कृष्णबहादुर बाकाबल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृतबहादुर राना, सुजन थापा विजयी हुनुभयो । सदस्य सबैले नौ–नौ मत प्राप्त गर्नुभएको छ ।

नवनिर्वाचित अध्यक्ष राणाले फुटबलको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै खेलाडी उत्पादन, प्रतियोगिता आयोजनाका साथै खेलकुद सामग्री सङ्कलनमा जोड दिने बताउनुभयो । एन्फाका केन्द्रीय सहमहासचिव प्रकाश पङ्गेनीले दुई वर्ष कोभिड–१९ ले खेलकुदका गतिविधि सुस्ताए पनि आगामी दिनमा खेल गतिविधि बढ्ने बताउनुभयो । पूर्वअध्यक्ष भीमसेन कार्कीले मणिमुकुन्द कपदेखि लिएर विभिन्न प्रतियोगिता आयोजना गरेकोे बताउनुभयो ।