• १२ साउन २०८१, शनिबार

मौरीपालनतिर आकर्षण

blog

फाइल तस्बिर ।

खलङ्गा समाचारदाता 

जाजरकोट, जेठ ८ गते । नलगाड नगरपालिकाका किसान मौरीको महबाट आत्मनिर्भर हुन थालेका छन् । नलगाड नगरपालिका–१, पाली, कल्पत, चिउरीका किसानले मौरीपालन व्यवसाय गर्न थालेपछि जीवनस्तरमा पनि सुधार हुँदै आएको छ । मौरीको महबाट राम्रो आम्दानी भएपछि नलगाड नगरपालिका–१ का किसान आकर्षित भएका छन् ।

स्थानीय तहले माटो परीक्षण गरी नलगाड नगरपालिका–१, पाली, कल्पत र चिउरीमा मह उत्पादनको सम्भावना देखिएपछि मौरी पकेट क्षेत्र घोषणा गर्दै किसानले मौरीपालन गर्दै आएका छन् । उनीहरूलाई कृषि विकास कार्यालय, स्थानीय तह अन्तर्गत कृषि विकास शाखाले पनि तालिम तथा आवश्यक सामग्री सहयोग गर्दै आएको छ  । नलगाड नगरपालिका–१, कोर्कागाउँका वीरबहादुर पुनले भन्नुभयो, “मौरीबाट राम्रो आम्दानी देखेपछि व्यवसाय 

सुरु गरेको हुँ ।” १५ वटा घारबाट सुरु गर्नुभएका पुनले अहिले ८० घार बनाइसक्नुभएको छ । तीमध्ये ३० वटा घार मौरी बिक्री गरिसक्नुभएको छ । 

गत कात्तिक १७ को भूकम्पले घर भत्किएपछि १५ घार मौरी घरमै पुरिएपछि अहिले ३० वटा घार मात्र छन् । सोही घारबाट एक सय धार्नी मह उत्पादन गरी दुई लाख रुपियाँ बराबरको आम्दानी गरेको उहाँले बताउनुभयो । मौरीपालन मात्र होइन, उहाँले बाख्रापालन व्यवसाय पनि गर्दै आउनुभएको छ । खसीबाख्राबाट उहाँले वार्षिक दुई लाख रुपियाँभन्दा बढी आम्दानी गरेको बताउनुभयो । अचेल उहाँसँग ५० वटा खसीबाख्रा छन् ।