• १२ साउन २०८१, शनिबार

मेडिकल र पसलमा ताला

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ ८ गते । रुकुमपश्चिमको जिल्ला सदरमुकाम खलङ्गा बजारमा सञ्चालित तीन वटा पसलमा ताला लगाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज बाँकेले जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमको समन्वयमा गरेको बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि तीन वटा पसलमा ताला लगाइएको हो । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार पाउरोटी उद्योग, चाउमिन उद्योग र खाद्यान्न पसल गरी आठ वटा पसलमा अनुगमन गरिएकोमा तीन वटा पसलमा ताला लगाइएको छ । उहाँले लोकेन्द्र पाउरोटी उद्योग, न्यू समीक्षा हाइजनिक बेकरी उद्योग र न्यू समीक्षा चाउमिन उद्योगमा ताला लगाइएको बताउनुभयो । 

ती उद्योग तथा पसलमा आवश्यक कागजपत्र नभएको, नवीकरण नगरिएको, अनुज्ञापत्र तथा सरसफाइ नभएको अनुगमन समितिको भनाइ छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका कार्यालय निरीक्षण अधिकृत विष्णुप्रसाद धितालले अनुगमन गरिएका आठ वटा पसलमध्ये सात वटालाई जरिबाना गरिएको बताउनुभयो । 

यसै गरी हुम्ला समाचारदाताका अनुसार जिल्ला सदरमुकाममा नियमविपरीत सञ्चालन हुँदै आएका तीन वटा निजी मेडिकल बन्द गरिएको छ । सिमकोट गाउँपालिकाले अनुगमनका क्रममा तोकिएको मापदण्ड नपुगेका मेडिकललाई सबै प्रव्रिmया पूरा गर्न तीन दिनको समय दिँदा पनि पूरा नगरेपछि बन्द गरिएको हो । प्रक्रिया पूरा गर्न नसकेका सिया मेडिकल हल, सिपी औषधी पसल र बुधे मेडिकल औषधी पसल सञ्चालनमा बन्द गरिएको छ । सिमकोटमा सञ्चालित पाँच वटा निजी मेडिकलको अनुगमन गर्दा तोकिएको मापदण्ड नपुगेपछि अनुगमन समितिको प्रतिवेदनका आधारमा ती मेडिकललाई बन्द गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक नरबहादुर भण्डारीले बताउनुभयो । 

मेडिकलमा मनपरी औषधी बिक्री गरेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर सञ्चालन गरेको, औषधी र क्लिनिकको अनुमति नलिई सञ्चालनमा आएको भेटिएकाले ती सबै मेडिकलले प्रक्रिया पूरा गर्न नसक्दा गाउँपालिकाले बन्द गरेको हो ।