• १२ साउन २०८१, शनिबार

नेप्से परिसूचकमा वृद्धि, कारोबार रकम उच्च

blog

काठमाडौँ, जेठ ७ गते । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ भने पछिल्लो चार महिनायताकै उच्च रकम कारोबार भएको छ ।  

हिजो आइतबार नेप्से परिसूचक ४५ दशमलव ६९ अङ्कले बढेकामा आज २७ दशमलव ५४ अङ्कले बढेर दुई हजार ९२ को बिन्दुमा कायम भएको छ । आज तीन सय १५ कम्पनीको एक करोड ४३ लाख ७० हजार छ सय ८९ कित्ता शेयर ८० हजार नौ सय ८२ पटक खरिद बिक्री हुँदा पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार दुई सय १२ बराबरको कारोबार भएको छ । यो कारोबार रकम गत पुस २७ गते यताकै उच्च हो ।

आजको कारोबारपछि कूल बजार पुँजीकरण ३३ खर्ब १७ अर्ब २९ करोड ६५ लाख ८० हजार हाराहारी पुगेको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ५७, जीवन बिमा समूह शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, लघुवित्त शून्य दशमलव ६५ र अन्य समूहको उपसूचक शून्य दशमलव ५० प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैङ्किङ समूहको उपसूचक चार दशमलव १८ प्रतिशतले बढेको छ । 

त्यस्तै विकास बैङ्क शून्य दशमलव ४२, होटल तथा पर्यटन शून्य दशमलव ३९, जलविद्युत एक दशमलव ३८, लगानी एक दशमलव ८४, म्युचुअल फन्ड एक दशमलव २४, व्यापार दुई दशमलव २३ र अन्य समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, भगवती हाइड्रोपावर डेभपलमेन्ट कम्पनी लिमिटेड र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सबैभन्दा धेरै घट्नेमा भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ४० र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ३५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै पोखरा फाइनान्स लिमिटेड १९ करोड ९२ लाख ९९ हजार आठ सय २४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैङ्क लिमिटेडको चार लाख ४३ हजार ५८ कित्ता शेयर खरिद बिक्री भएको छ । रासस