• १२ साउन २०८१, शनिबार

जलेश्वरस्थित कारागार भवन जीर्ण हुँदा त्रासमा कैदीबन्दी

blog

फाइल तस्बिर

महोत्तरी, जेठ ७ गते । जलेश्वरस्थित महोत्तरी कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । भवन पुरानो भएकाले छत उप्कने, पर्खालको इँटा चोइटिने र मक्किएका दलिनबाट धमिराले खाएको धुलो झर्ने थालेपछि जोखिम बढेको कैदीबन्दीले गुनासो गरेका छन् । 

वि.सं.१९१३ सालमा निर्मित कारागारमा एक सय ३५ जनालाई राख्न सकिने भए पनि हाल पाँच सयभन्दा बढी सङ्ख्यामा कैदीबन्दी राखिएका छन् । कारागार प्रमुख (जेलर) रामचन्द्र साहले क्षमताभन्दा बढी कैदीबन्दी भएपनि सोअनुसार व्यवस्थापन नहुँदा समस्या भएको बताउनुभयो । उहाँका अनुसार कारागारमा रहेका पाँच सय ९४ कैदीबन्दीका लागि २४ कोठा, १५ शौचालय, सात वटा चापाकल र छ वटा धारा छन् तर क्षमताभन्दा चौब्बर बढी कैदीबन्दी हुँदा सुत्न, बस्न र नित्य कर्म गर्नसमेत समस्या छ । 

“करिब डेढफिट चौडा कोठामा धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्दा धेरै समस्या छ । पछिल्लो समय कारागारलाई सुधार गृहको अवधारणाअनुसार विकास गर्नुपर्नेमा पठनपाठन, खेलकुद र मनोरञ्जनको व्यवस्थाका लागि सोच्न सकिएको छैन”, उहाँले भन्नुभयो । प्रदेश राजधानी रहेको धनुषामा कारागार नहुँदा त्यहाँको चाप पनि यही काराकारले धान्नुपरेको छ । कूल कैदीबन्दी मध्ये ६० प्रतिशतभन्दा बढी धनुषाकै कैदीबन्दी रहेका छन् ।

“हामीले कारागारको भौतिक अवस्था र कैदीबन्दीको चाप, पूर्वाधारलगायत समस्याबारे माथिल्लो निकायमा दैनिकजसो जानकारी गराइरहेका छौँ तर सुनुवाइ भएको छैन”, कारागार प्रमुख साहले गुनासो गर्नुभयो । जलेश्वरमा कारागारसँग छ बिघा ११ कट्ठा १७ धुर जग्गा छ । सो जग्गामा सुविधा सम्पन्न भवन तथा खुला कारागारको अवधारणाअनुसार पूर्वाधार निर्माण गर्न माथिल्ला निकायमा प्रस्ताव पठाइएकाले त्यसको कार्यान्वयन हुनुपर्ने साहले बताउनुभयो । रासस