• १२ साउन २०८१, शनिबार

नौ वटा मोटरसाइकलसहित चार पक्राउ

blog

बाँके प्रहरीले बरामद गरेका मोटरसाइकल र संलग्न व्यक्तिहरु । तस्बिर सौजन्य : बाँके प्रहरी

गजेन्द्र गुरुङ
खजुरा, जेठ ७ गते ।
बाँके प्रहरी पछिल्लो समयमा जिल्लामा भइरहेका मोटरसाइकल चोरीका घटनाप्रति गम्भीर बन्दै गएको पाइएको छ । दैनिकरुपमा नेपालगन्जबाट मोटरसाइकल हराइरहेको भन्ने स्थानीयले गुनासो गरेपछि बाँके प्रहरी मोटरसाइकल चोरविरुद्ध खरोरुपमा उत्रिएको हो ।

बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट चोरी भएका विभिन्न कम्पनीका नौ वटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जिल्लामा पछिल्लो समयमा मोटरसाइकल चोरीका घटनाहरु दैनिक  बढेको भन्ने सर्वसाधारणको गुनासोका आधारमा विशेष प्रहरी परिचालन गरेको बताउनुभयो ।

उहाँले विभिन्न स्थानबाट विभिन्न कम्पनीका नौ वटा मोटरसाइकल बरामद गरिएको र उक्त कार्यमा संलग्न चार जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रनाउ डाँगीका अनुसार मोटरसाइकल चोरीमा संलग्न खजुरा गाउँपालिका वडा नं. ७ का बहुर बर्मा, सोही ठेगानाका फरिद दर्जी, उमेश वर्मा र राजन सोनीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका चारै जना व्यक्तिलाई चोरी कसूरमा बाँके जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई थप अनुसन्धान एवम् कारबाही अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

बरामद गरिएका मोटरसाइकलका सवारी धनी नखुलेका कारण आवश्यक कागजपत्रसहित प्रहरी कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणलाई बाँके प्रहरीले अनुरोध गरेको छ । बाँकेमा पछिल्लो समयमा दैनिकजसो मोटरसाइकल चोरीका घटना बढ्दै गएको भनेर सर्वसाधारणले गुनासो गर्दै आएका थिए ।

बाँके प्रहरीले गत वैशाख २९ गते चोरी भएका चार वटा मोटरसाइकलसहित संलग्न चार जना र वैशाख ३० गते एउटा मोटरसाइकलसहित संलग्न दुई जना व्यक्तिलाई पनि पक्राउ गरि कारबाही अगाडि बढाएको थियो ।