• १६ भदौ २०८१, आइतबार

किसानको बारीमा विद्यार्थी

blog

किसानको बारीमा पुगेर व्यवहारिक शिक्षा लिँदै विद्यार्थी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ ७ गते ।
नेपाल सरकारले नमुना विद्यालयको रुपमा छनोट गरेको तनहुँको एक विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको छ । यसरी जोड दिनेमा सदरमुकाम दमौलीस्थित सत्यवती माध्यामिक विद्यालय रहेको छ । विद्यार्थीलाई ज्ञान लिन सजिलो हुने हुँदा नतिजा राम्रो ल्याउने गरेकाले प्रयोगात्मक शिक्षालाई जोड दिइएको विद्यालयले जनाएको छ ।

प्रयोगात्मक शिक्षा दिने क्रममा विद्यालयले व्यास नगरपालिका–१ गल्वुवेशीस्थित रामनाथ मिश्रले सञ्चालन गरेको श्रीकृष्ण मौरी फर्मको अवलोकन गरेका छन् । कक्षा १० को ख र घ सेक्सनका ९८ जना विद्यार्थीलाई विज्ञान विषयको स्थलगत अध्ययन गराइएको छ । विज्ञान विषमा रहेको ‘मौरीको जीवनचक्र’ को बारेमा ज्ञान दिने उद्देश्यले किसानको फर्ममा पु¥याएको शिक्षा प्रदान गरिएको विज्ञान शिक्षक विजयराज खनालले जानकारी दिनुभयो ।

घोकन्ते शिक्षा विद्यार्थीले चाँडै बिर्सने तर प्रयोगात्मक शिक्षा दीर्घकालीनसम्म हुने भएकाले किसानकै बारीमा लगिएको शिक्षक खनाल बताउनुहुन्छ । प्रयोगात्मक शिक्षा चिरस्थायी हुने भएकाले विद्यालयले प्रयोगात्मक शिक्षालाई जोड दिँदै आएको विद्यालयको प्रधानाध्यापक पुष्पकला भट्टराईले जानकारी दिनुभयो । भट्टराईले भन्नुभयो, ‘‘प्रयोगात्मक शिक्षाले विद्यार्थीलाई राम्रो नम्बर ल्याउन मद्दत पुग्नुका साथै जीवन उपयोगी हुने भएकाले प्राथमिकता दिने गरेका छौं ।’’

२०७० सालमा यो विद्यालय नेपाल प्रथम भएको थियो । एसईईमा लगातार तीन वर्षसम्म ८० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउनेको आधारमा प्रथम भएको विद्यालयले जनाएको छ ।  २०६८ सालदेखि विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान समूहको कक्षा सञ्चालन भइरहेको छ । यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिकतर्फ कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन भइरहेको छ ।

उत्कृष्ट नतिजा ल्याएकाले नेपाल सरकारले नमुना विद्यालयको रुपमा छनोट गरेको छ । यो २०७४ साल असार २५ गते शिक्षा मन्त्रालयको निर्णय अनुसार नमुना विद्यालय विकास तथा सञ्चालनका लागि छनोट भएको विद्यालयले जनाएको छ । विद्यालयमा दुई हजार छ सय विद्यार्थी अध्ययन गर्दछन् । व्यवहारिक तथा प्रयोगात्मक शिक्षा दिँदै उत्कृष्ट नतिजा ल्याउने गरेको विद्यार्थीको चाप धेरै भएको प्रधानाध्यापक भट्टराई बताउनुहुन्छ ।