• १० मंसिर २०८१, सोमबार

‘कोपिलाका सुगन्ध’ सार्वजनिक

blog

काठमाडौँ, जेठ ६ गते । लेखक विन्दु अधिकारी ढकालको तेस्रो कृति ‘कोपिलाका सुगन्ध’ शनिबार सार्वजनिक गरिएको छ । विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वको बाल्यकालको संस्मरण सँगालोका रूपमा ‘कोपिलाका सुगन्ध’ कृति रहेको छ । 

सो कृतिमा समेटिएका व्यक्तित्वले संयुक्त रूपमा पुस्तकको सार्वजनिक गर्नुभएको थियो । सीताराम–पदमकुमारी फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा हास्य कलाकार हरिवंश आचार्यले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वको बाल्यकाल समेटिएको कृतिमा आफूले समेत स्थान पाउँदा खुसी लागेको बताउनुभयो । 

लेखक चन्द्र घिमिरेले कृतिमाथि चर्चा गर्दै ४९ जना व्यक्तित्वको बाल्यकाल समेटिएको र यसले समाजको समग्र चित्र प्रदर्शन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक मान्छे कथा बोकेर बाँच्छ । त्यो लेखिएमा कथा बाँच्छ, नलेखे मर्छ । कतिले आफ्ना कथा लेख्छन । कतिले अरूका कथा लेख्छन । लेखिका विन्दुले अरूका कथा लेखेर जीवन्त बनाउनुभएको छ ।”

उहाँले कृतिमा समेटिएका ४९ जनाको छनोट आधार के ? भन्ने प्रश्न राख्दै कतै कतै कथा कमजोर भएको र यसको कारण सेलिब्रेटीले आफ्ना अभिव्यक्ति प्रस्टसँग नराख्दा या दम्भ राखेकाले यस्तो भएको हुन सक्ने चर्चा गर्नुभयो ।

हास्य कलाकार मनोज गजुरेल र कवि एस्पी कोइरालाले लेखनको क्षेत्रमा सफलताका लागि शुभकामना व्यक्त गर्दै ‘कोपिलाका सुगन्ध’ बालबालिकाले पढ्नुपर्ने बताउनुभयो । लेखक विन्दु अधिकारी ढकालले विशिष्ट व्यक्तित्वको बाल्यकालको संस्मरण लेख्ने क्रममा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो ।