अमरराज नहर्की
तनहुँ, असार ५ गते । गर्मी बढेसँगै प्रदेश अस्पताल, दमौलीमा पखाला, भाइरल ज्वरो, टाइफाइटका बिरामी बढेका छन् । गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा प्रभावित भएको प्रदेश अस्पताल दमौलीमा मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले जानकारी दिनुभयो ।
दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाका कारण दैनिक ज्यालादारी गर्ने व्यक्ति, बालबालिका र वृद्धवृद्धालाई लु लाग्ने जोखिम बढेको बरालको भनाइ छ ।
बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन डा. बराल सुझाव दिनुहुन्छ । अस्पतालमा दैनिक तीन सयको हाराहारीका बिरामी उपचारका लागि आउने गरेकामा हाल चार सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको बराल बताउनुहुन्छ । डा. बरालका अनुसार आँप र लिची बजार भित्रिएसँगै बिरामी धेरै बढ्न पुगेका छन् । डा. बरालले भन्नुभयो, ‘‘औषधी राखेर पकाइएका आँप र लिची धेरै खाँदा झाडापखालाको बिरामी बढेका छन् ।’’
उपचारमा आउनेमध्ये रुघाखोकी, भाइरल ज्वरो र पखालाका बिरामी छन् । मौसमी सङ्क्रमणबाट जोगिन बिरामीले पानी उमालेर प्रशस्त मात्रामा पिउने, शरीरमा पानी तथा झोलिलो खानेकुरा बढी सेवन गर्ने, आराम गर्ने र ज्वरो आएको अवस्थामा सिटामोल वा चिकित्सकको सल्लाहमा औषधी सेवन गर्न सुझाव दिइएको छ ।