• २ माघ २०८१, बुधबार

ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी

blog

तस्बिर : रासस

दमौली (तनहुँ), जेठ ७ गते । आँबुखैरेनी गाउँपालिका-३ की रितु थापामगर घरधन्दा सकेर ढाका बुन्नुहुन्छ । चार वर्ष अगाडि ढाका बुनाइसम्बन्धी तीन महिने तालिम लिएर उहाँ व्यवसायमा लाग्नुभएको हो । 

“तालिम लिएपछि घरमै पाँच महिना कपडा बुनेँ । फेरि दुई महिना दमौली आएर थप तालिम लिएँ”, उहाँले भन्नुभयो, “त्यसपछि निरन्तर यही पेसामा छु ।” फुर्सदको समय सदुपयोग गर्दा कामसँगै दाम कमाउन सकिने उहाँको भनाइ छ । व्यवसाय थालेपछि अरूसँग पैसा माग्नुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पैसा चाहिँदा अरूसँग माग्नुभन्दा आफैले कमाउन थालेपछि धेरै सहज भयो । घरायसी कामसँगै ढाका बुन्न सकिने भएकाले अरूलाई पनि उद्यम गर्न आग्रह गर्छु ।”

ढाका उत्पादनका लागि आवश्यक कच्चापदार्थ काठमाडौँबाट ल्याउने गरेको उहाँले बताउनुभयो । धागो ल्याएर मागअनुसार ढाका बुन्ने गर्नुभएका उहाँले अहिले सारीको माग धेरै भएको जानकारी दिनुभयो । उहाँका अनुसार ढाकाबाट पछ्यौरा, चोली, कोट, मफलर र कुर्तासुरुवाल बनाउन सकिन्छ । थापाका अनुसार एउटा सारीका लागि ढाका तयार गर्न तान, धागोलगायत सबै गरी तीन हजारसम्म खर्च हुने गरेको छ । आठ हजारदेखि १२ हजारसम्ममा सारी बिक्री हुन्छ । एउटा सारी बनाउन कम्तीमा १२ दिन लाग्ने गर्छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले व्यवसायी बन्न चाहनेलाई गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । हरेक व्यक्ति उद्यमी बन्न सकेमात्रै समृद्धि हासिल हुने भएकाले त्यस्ता व्यक्तिले उद्यम गर्न चाहे गाउँपालिकाको सहयोग रहने उहाँको भनाइ छ । यता दमौलीमा ढाका उद्योग सञ्चालन गर्दै आउनुभएका विष्णु चौधरीले बाबुबाजेको पेसा अपनाएर उद्यमी बन्नुभएको छ । व्यास नगरपालिका-२ मा वि.सं.२०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उहाँ सफल उद्यमी बन्नुभएको हो । 

ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरेपनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उहाँको भनाइ छ । ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरासुरुवाल, पाल्पाली ढाका टोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको चौधरीले बताउनुभयो । उहाँको उद्योगबाट उत्पादित ढाकाका सामग्री यहाँमात्र सीमित छैनन् । जिल्लाकै ग्रामीण भेग, लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौँलगायतका ठाउँबाट माग हुने गरेको छ । 

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले पनि ढाकाको कपडा किन्ने गरेका छन् । ढाका कोसेली लैजाने संस्कारको विकास गराउन सके व्यापार अझै बढ्ने उहाँले बताउनुभयो । जिल्लामा ढाका बुनाइतर्फ आकर्षण बढेसँगै पर्यटन तथा उद्योग कार्यालय तनहुँले दुई महिने निः शुल्क ‘एडभान्स’  ढाका बुनाइ तथा डिजाइन तालिम सुरु गरेको छ । युवायुवतीलाई उद्यमसँग जोड्ने उद्देश्यले वार्षिक कार्यक्रम बमोजिम तालिम सञ्चालन गरिएको निमित्त प्रमुख सुवास पौडेलले जानकारी दिनुभयो । रासस