• २२ असार २०८२, आइतबार

‘समाचारमा गुणस्तर र ग्रामीण क्षेत्र केन्द्रित गर्न जोड’

blog

धुलिखेल (काभ्रेपलाञ्चोक), जेठ ५ गते । सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले मङ्गलबारदेखि काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अनलाइन तथा मोबाइल पत्रकारिता (मोजो) तालिम आज समापन भएको छ । बागमती प्रदेशमा क्रियाशील पत्रकारको क्षमता विकास गर्दै आधुनिक सञ्चार र प्रविधिको प्रयोग र गुणस्तरमा विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले पत्रकारलाई सामाजिक विषयमा केन्द्रित भएर पत्रकारिता गर्न आग्रह गर्दै सहरमुखी नभएर ग्रामीण परिवेशमुखी पत्रकारिता गर्न आवश्यक रहेको बताउनुभयो । प्रादेशिक संरचनाले राष्ट्रिय आवश्यकताअनुसार काम गरिरहेको भन्दै सोहीअनुसार अनलाइन र मोबाइल पत्रकारिता तालिम आयोजना गरिएको जानकारी दिनुभयो । 

विगत पाँच वर्षदेखि यस्ता विषयमा केन्द्रित भएर तालिम आयोजना गर्दै आएको सञ्चार रजिस्ट्रार सापकोटाले बताउनुभयो । “यसरी गर्दै आएको काममा लेखनशैलीमा कमजोर रहेको पाइएको छ, पाठकलाई सही सन्देश दिन लेखन राम्रो हुनु पर्दछ”, उहाँले भन्नुभयो, “तालिममा लेखाइसम्बन्धी काम सिकाएका छौँ, त्यसलाई अझ विकास गर्न आवश्यक छ ।” जिल्लामा बसेर गरेको पत्रकारिता प्रविधिको विकासका कारण विश्वव्यापीकरण हुने भएकाले लेखनशैलीमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आगामी दिनमा प्राप्त ज्ञानलाई विकास गर्न अर्को तालिमको आयोजना गरिने बताउँदै पत्रकारलाई सिकेको कुरा व्यवहारमा देखिने गरी कार्यान्वयन गर्न सञ्चार रजिस्ट्रार रेवती आग्रह गर्नुभयो । अनलाइन पत्रकारितामा उमेश श्रेष्ठ र प्रवेश सुवेदीले, विकास कार्की र रामु सापकोटाले मल्टिमिडिया तथा मोबाइल पत्रकारिताका विषयमा तालिममा सहजीकरण गर्नुभएको थियो । तालिममा प्रदेशमा क्रियाशील २२ जना पत्रकारको सहभागिता थियो । रासस