काठमाडौँ, जेठ ५ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पुँजीवादी सामाजिक-आर्थिक ढाँचालाई परिवर्तन गर्न वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
पार्टी निकट एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको चौथो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा उहाँले नेपाली समाजको ठोस वस्तुगत अवस्था पुँजीवादी भएकाले त्यसको विकल्पमा समाजवादी क्रान्ति र आर्थिक रूपान्तरण कायम गर्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि समाजमा क्रान्तिको स्वरूप वस्तुगत अवस्थाले मात्र निर्धारण गर्ने बताउँदै उहाँले भन्नुभयो, “अझै पनि कतिपय वामपन्थी साथीहरू समाजवादी कार्यक्रम अघि सार्न तयार हुनुहुन्न, यो क्रान्तिकारी कार्यदिशाबाट दक्षिणपन्थी दिशातिर भड्किएको चिन्तन हो । यस्तो चिन्तनले वस्तुगत यथार्थलाई देख्दैन ।”
जनताको बहुदलीय जनवादलाई नै लक्ष्य बनाउनुपर्नेमा जोड दिँदै नेता खनालले जबजको रक्षा र विकास गरेर मात्र समाजवादमा पुग्न सकिन्छ भन्नुभयो । विगतमा जनताको अग्रगति र प्रगतिको मुख्य बाधक नै निरङ्कुश राजतन्त्र र सामन्तवाद रहेको बताउँदै उहाँले नेपाली समाजको आधारभूत पक्षहरूमा नै परिवर्तन आएकाले अब समाजवादी कार्यक्रमका माध्यमबाट जनता र राष्ट्रलाई अग्रगतितर्फ लैजानुपर्ने उल्लेख गर्नुभयो । रासस