नेपालमा रासायनिक खेतीविरुद्ध खाद्य सम्प्रभुता, पर्यावरणीय कृषि, जैविक कृषि, प्राकृतिक कृषि, प्राङ्गारिक कृषिलगायत थुप्रै अभियान सञ्चालनमा छन् । कर्णाली प्रदेशलाई जैविक प्राङ्गारिक क्षेत्र घोषणा गरिएको छ भने सङ्घीय तथा कतिपय प्रदेश र स्थानीय सरकारले पनि प्राङ्गारिक कृषि प्रवर्धनमा केही कार्यक्रम अगाडि सारेका छन् । संविधानमा खाद्य सम्प्रभुताको अधिकार प्रत्याभूति हुनु र भर्खरै खाद्य सम्प्रभुताको नियमावली सार्वजनिक हुनुले रासायनिक खेतीको विकल्पको नीतिगत तयारी देखाउँछ । कतिपयले आगामी १० वर्षमा नेपाल मात्र नभई विश्वमै जैविक कृषिले मूलधारको कृषिको रूपमा उच्च र प्राथमिक स्थान पाउने आँकलन गरेका छन् । पर्यावरणीय कृषि र प्राङ्गारिक खेतीबारे धेरै लामो सङ्घर्ष चलिरहेको र हाल केही उपलब्धि प्राप्त भए पनि अहिले किसानलाई आवश्यक आधारभूत ज्ञान, सिप तथा जैविक सामग्रीको उपलब्धता सुनिश्चित नगरिएको सन्दर्भमा जैविक सामग्री (वायोइन्पुट), प्रभावकारी सूक्ष्म जीवाणु (इयम्) र घरेलु उपचार विधि (होमियोप्याथी) को जानकारी र तयारी समयसापेक्ष हुन सक्छ । अझ नेपालमा भएका केही प्राङ्गारिक मल कारखाना बन्द हुने अवस्थामा छन् भने सानो स्तरमा अनेकन नाममा यस प्रकारका गतिविधि भइरहेका छन् । त्यसलाई मापडण्ड र नियमनमा ल्याई व्यवस्थित गर्नुपर्ने आवश्यकता छ ।
जैविक कृषि भन्नेबित्तिकै माटोमा पोषण कायम गर्न आवश्यक सूक्ष्म जीवाणुका कुरा आउँछन् । प्राङ्गारिक कृषिका लागि माटोमा प्राङ्गारिक पदार्थको वृद्धिमा जोड दिने कुरा पर्छ । साथै पर्यावरणीय कृषिमा जैविक विविधता र जैविक सामग्रीको उपयोगिता आवश्यक देखिन्छ । जैविक कृषिका लागि रोग किरा नियन्त्रणका पनि जैविक विधि र विभिन्न घरेलु विधि छन् । किसानलाई मुख्यतः बायोइन्पुट्सको ज्ञान र विकल्प उपलब्ध नहुँदा पर्यावरणीय कृषि बढी चुनौतीपूर्ण भएको देखिन्छ । त्यसैले हाम्रो सन्दर्भमा तत्काल जैविक सामग्री, सूक्ष्म जीवाणु र घरेलु विधिबारे छलफल र तयारी गर्नुपर्ने देखिन्छ । यसो हेर्दा र सुन्दा निकै नयाँ, वैज्ञानिक र प्राविधिक लागे पनि यी सबै किसानले विभिन्न रूपमा लामो समयदेखि गर्दै आएका अभ्यास र त्यसलाई सुधार गरिएका रूप नै हुन् ।
जैविक कृषि, पर्यावरणीय कृषि र प्राङ्गारिक कृषि भिन्न अर्थ र सन्दर्भमा प्रयोग गरिए पनि सारमा रासायनिक मलखाद र रासायनिक विषादी प्रयोगबिना गरिने खेती भनेर नै बुझ्न सकिन्छ । प्राङ्गारिक कृषि भनेर प्राङ्गारिक प्रमाणित भएको कृषिलाई मात्र भन्ने, पर्यावरणीय कृषिलाई पुँजीवादी उत्पादन पद्धतिविरुद्ध साना किसान केन्द्रित खाद्य सम्प्रभुताको सिद्धान्तमा आधारित कृषिलाई मान्ने तथा जैविक कृषि तथा प्राकृतिक कृषिलाई विशिष्ट रूपमा प्रयोग गरेको ठान्ने प्रवृत्ति सर्वोपरि देखिन्छ तर यी सबैखाले कृषिमा कृत्रिम तरिकाबाट बनाइएका रासायनिक मलखाद, रासायनिक विषादी (झारनाशक, किटनाशक, रोगनाशक आदि) बिरुवाका वृद्धिबद्र्धक/नियन्त्रक रसायन (हर्मोन), एन्टिबायोटिक्स, जैविक परिवर्तन गरी बनाइएका जीव (जिएमओ) आदिको प्रयोग निषेध गरिएको हुन्छ । यसमा बिरुवालाई आवश्यक पर्ने कार्बोहाइड्रेड, एमिनो एसिड र वनस्पतिको वृद्धिका लागि चाहिने पोषण तथा माटोको उर्वरा शक्तिलाई जैविक मलको प्रयोगले मद्दत गरेको हुन्छ । साथै रोगकिरा नियन्त्रण पनि प्राकृतिक विधिबाट हुन्छ ।
जैविक सामग्रीको औचित्य
जैविक र प्राङ्गारिक खेतीको आधारभूत विषय नै जैविक सामग्री वा बायोइनपुट्स हुन् । उत्पादकत्व वृद्धि तथा माटो र बालीको स्वस्थता बढाउन प्रयोग गरिने जैविक एजेन्टहरू (इन्जाइम वा सूक्ष्मजीवहरू) वा जैविक मल तथा जैविक कीटनाशकलाई नै जैविक सामग्री भनिन्छ । बायोइन्पुटहरू बिरुवा, माइक्रोबियल र पशु उत्पत्तिको जैविक पदार्थ हुन् । बायोइन्पुटहरूले विभिन्न प्रक्रिया र प्रविधिमा प्रयोग हुने जैविक सामग्री, पदार्थ वा एजेन्टहरूको विस्तृत शृङ्खलालाई समेट्छ । यी इन्पुटहरू जीवित जीवहरू वा तिनीहरूका कम्पोनेन्टबाट व्युत्पन्न हुन्छन् । नाइट्रोजन फिक्सिङ गर्न, फस्फेटलाई घुलाउन र सेलुलोेजलाई कुहाउन विभिन्न सूक्ष्म जीवाणुद्वारा माटोमा लाभदायक जीवाणुको सङ्ख्या र क्रियाकलाप वृद्धिबाट माटोको उर्वरा शक्ति बढाउन सकिन्छ । खासमा यो नै सूक्ष्म जीवको प्रयोग हो । यिनको काम माटोमा भएका वनस्पतिले पोषक तत्व सजिलै लिन सक्ने गरी उपलब्ध गराउनु हो ।
इएम (इफेक्टिभ माइक्रोअग्र्यानिजम्) को रूपमा माटोमा पाइने र खाली आँखाले देख्न नसकिने एककोषीय सूक्ष्म जीवको प्रयोग गरिन्छ । जीवाणु वा ब्याक्टेरिया तथा अन्य कोसे बालीका जरामा पाइने सूक्ष्म जीवाणुको सङ्कलन गरी प्रयोगशालामा उपयुक्त वातावरण दिएर सङ्ख्या बढाउने र ती जीवाणुलाई संयोजन गरी सूक्ष्म जैविक मलको रूपमा प्राङ्गारिक तìव भएको धुलो माटो र गोल वा अँगारको धुलो, खुदो वा भेलीको गुलियोसँगै मिसाएर चिस्यान कायम गरी प्याकेटमा समेत राख्ने विधि अहिले जैविक कृषिमा बढी उपयोगी मानिन्छ । केही सूक्ष्म मलहरू सक्खर वा चिनीपानीको गुलियो झोलमा मिसाएर एक लिटरको बोतलमा इएम तत्व नेपाली बजारमा पाइन्छ । यस्तो झोल खेतबारीमा सिधै छर्न वा कम्पोष्ट मल कुहाउन वा दानामा मिसाएर पशुपन्छीलाई खुवाउन पनि प्रयोग गरिन्छ । सूक्ष्म जीवाणु मल विभिन्न प्रकारका हुन्छन् । हालसम्म पाइने जीवाणु मलहरूमा राइजोवियम, एजोटोब्याक्टर, एजोस्पाइरिलियम, एल्गल जीवाणु मल, एजोला आदि चर्चित छन् । यीमध्ये सबैभन्दा महत्वपूर्ण सूक्ष्म जीवहरूमा ब्याक्टेरिया, भाइरस र फङ्गीहरूबाट व्युत्पन्न (डेरिभेटिभ) मल पर्छन् ।
यसका साथै जैविक सामग्रीको रूपमा खनिज (रिमिनेरलाइजर) र चट्टानी धुलो (रक पाउडर) को पनि चर्चा गर्नुपर्ने हुन्छ । माटोको गुणस्तर कायम गर्न, मलिलो माटोलाई बग्न नदिन तथा वनस्पतिलाई आवश्यक पोषण उपलब्ध गराउन खनिज पदार्थको प्रयोग गरिन्छ । बसाल्ट रक डस्ट, सिलिकेट रक डस्ट, पोटासियम फेल्डस्पार, चुन ढुङ्गालगायतका थुप्रै चट्टानको धुलोले वनस्पतिलाई आवश्यक पोषण (क्याल्सियम, फस्फोरस, पोटास, म्याग्नेसियम, सिलकन, फलाम, जिङ्क आदि) तत्व उपलब्ध गराउन मद्दत गर्छ । नेपालमा चुनढुङ्गा, खरानीलगायत केही पदार्थको प्रयोग भए पनि यसको प्रयोग फस्टाउन सकेको छैन तर अत्यन्त सहज र किफायती यो विधिलाई जैविक कृषिमा उपयोग गर्न आवश्यक देखिन्छ ।
बायोइनपुटको प्रयोग
नेपालमा दिगो कृषि अभ्यास अन्तर्गत बायोइनपुटको प्रयोग यसरी भएको देखिन्छ :
कम्पोस्ट : भान्साको फोहोर, बालीको अवशेष र पशु मल जस्ता र
जैविक सामग्री
इएम : नाइट्रोजन–फिक्सिङ ब्याक्टेरिया, फस्फेट–घुलनशील ब्याक्टेरिया र माइकोरिजल फङ्गाई जस्ता लाभदायक सूक्ष्मजीव
जैविक कीटनाशक : प्राकृतिक पदार्थ वा जीव, निमको तेल, बिरुवाको एस्ट्याक (तत्व) र लाभकारी कीरा (किरा र रोग नियन्त्रण गर्न)
भर्मी कम्पोस्ट : गड्यौले मल (जैविक फोहोर सड्न सहयोगी, पोषक तत्वले भरिपूर्ण)
हरियो मल : केही वनस्पति र बिरुवा (खेतीकै रूपमा उत्पादन गरिने र जैविक पदार्थ तथा नाइट्रोजनको मात्रा बढाउने)
जैविक विषादी : यसको प्रयोगद्वारा बोटबिरुवा वा बालीनालीमा लाग्ने रोग र किरा नियन्त्रण गरिन्छ । जैविक विषादी जनावर, बिरुवा, ब्याक्टेरिया र केही खनिज तत्वबाट प्राप्त गर्न सक्छाैँ । यसले बालीमा ब्याक्टेरिया, किरा र भाइरसबाट हुने क्षति रोक्न मद्दत गर्छ । यो परम्परागत रूपमा प्रयोग गरिँदै आएको रासायनिक विषादीभन्दा पर्यावरणमैत्री र स्वास्थ्यको दृष्टिले स्वस्थकर विधि हो ।
जैविक तबरले खेती गर्ने प्रविधि वा तरिकामा घुम्तीबाली लगाउने, रोग–किरा कम लाग्ने बाली वा जातको प्रयोग गर्ने, बाली लगाउने समयको फेरबदल गर्ने, मिश्रित बाली लगाउने साथसाथै हातले टिपेर मार्ने, जालीले समातेर मार्ने, जालमा वा पासोमा पार्ने आदि विधि चलनचल्तीमा छन् । यसमा अझ सहज र कम खर्चिलो घरेलु विधि पनि छन् । नेपालमा आइपिएमको रूपमा विविध विधिको प्रयोग गरिँदै आएको छ तर आइपिएम पूर्ण रूपमा जैविक विधि भने होइन । नेपालमा हजारौँ रोगकिरा र विषादी व्यवस्थापन गर्ने तरिका भए पनि त्यसबारे थप कार्यव्रmम ल्याउन आवश्यक छ । आत्मनिर्भर, पर्यावरणीय र जैविक कृषिमा घरेलु र स्थानीय विषादी प्रयोग गर्न सकिन्छ । पर्माकल्चरमा यसको महत्व बढी छ ।
घरेलु उपचार विधि : घरेलु उपचार विधिलाई होमियोप्याथी पनि भनिन्छ । रासायनिक किटनाशक विषादीले स्त्री स्वभावको खपटे, बाघे खपटे, नमस्ते किरा, मौरी, बारुलाका साथै अन्य प्राकृतिक रक्षक लाभदायी किरा पनि मार्ने भएकाले परागसेचनमा आघात पार्नुका साथै हानिकारक किराको प्रकोप झन् बढ्छ । यसले प्रतिरोधात्मक शक्तिको विकास गराई नयाँ समस्या थप्न सक्छ । त्यसैले यस्तो किसिमको खराब असरबाट टाढै रहन गाउँघरमै पाइने विभिन्न स्थानीय जडीबुटी, मसलाबाली तथा झारपात आदिको प्रयोग गरी रोगकिराको रोकथाम नितान्त आवश्यक छ । उदाहरणका लागि पुदिना र बाबरीलाई बन्दा र गोलभेँडासँगै लगाएमा पुदिना र बाबरीको बास्नाले कमिला, लाही, कालो खपटे आदिलाई भगाउँछ । लसुनको गन्धले आलु बारीको पतेरो भाग्छ । सयपत्रीको गन्धले भटमासको खपटे, बिरुवाको जुका, सेता झिँगा र अन्य किरा भगाउँछ ।
मकै, बोडी र सिमी मिसाएर रोप्दा सिमीले मकैलाई थप मल मिल्छ भने मकैको डाँठे गवारो साथै सिमी बोडीको थ्रिप्स कम लाग्छ । मट्टितेल वा नरिवलको तेलमा निमको तेल मिसाई बालेमा सजिलैसँग लामखुट्टे भगाउन सकिन्छ । रोग किरा नियन्त्रणमा सबैभन्दा उपयोगी निमका पात र बिउ हुन्छन् । बोझो, सुर्ती, सिस्नुपानी आदि पनि किसानले रोग किरा नियन्त्रणमा प्रयोग गर्दै आएका छन् । खरानी यसका लागि बहुउपयोगी हुन्छ । गाई–भैँसीको गहुँत पानीमा मिसाएर छर्नाले लाही, झुसिल्किरा, भाइरस, काँक्रो, फर्सीका ढुसी रोग, गोलभेँडा र खुर्सानीको पात बटार्ने रोग आदिलाई रोकथाम गर्छ । साथै गहुँतले युरियाको काम गर्ने भएकाले यसको प्रयोगबाट उत्पादन बढ्छ । यस्ता अनेकन विधि तथा एकीकृत शत्रुजीव व्यवस्थापनका विधिले पनि जैविक कृषिलाई प्रवर्धन गर्न सहज हुन्छ ।
निष्कर्ष
नेपालमा बायोइनपुट, सूक्ष्म जीव तथा घरेलु विधिहरू दिगो कृषि र जैविक खेती अभ्याससँग जोड्नु आवश्यक छ । निम्न वित्तीय किसान र कृषि समुदाय यी विधिबाट सजिलै लाभान्वित हुन सक्छन् । यो लागत–प्रभावी, वातावरणमैत्री अनि दिगो मानिन्छ । साथै दीर्घकालीन रूपमा माटोको स्वास्थ्यलाई पनि बढवा दिन्छ । त्यसैले वर्तमान सन्दर्भमा विभिन्न सङ्घ संस्था र सरकारी तथा गैरसरकारी निकाय, किसान सङ्घ सङ्गठन आदिले किसानलाई यसबारे तालिम, प्रशिक्षण, ज्ञान, अभिलेखीकरण, अध्ययन, अनुसन्धान तथा सामग्री र स्रोतहरू उपलब्ध गराएर अग्रणी भूमिका खेल्नु आवश्यक छ ।