• १० जेठ २०८१, बिहिबार

भैरव अर्यालको प्रतिमा अनावरण

blog

साहित्यकार भैरव अर्यालको प्रतिमा अर्यालको थाकथलो जोरपाटी अर्याल गाउँमा अनावरण हुँदै

काठमाडौं, वैशाख १० गते । साहित्यकार भैरव अर्यालको प्रतिमा अर्यालको थाकथलो जोरपाटी अर्याल गाउँमा अनावरण गरिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ७ मा रहेको अर्याल गाउँमा साहित्यकार÷पत्रकार रोचक घिमिरेले शनिवार उहाँको प्रतिमा अनावरण गर्नुभएको हो । 

भैरव पुरस्कार गुठीका अध्यक्षसमेत रहनुभएका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । व्यङ्ग्य साहित्यबाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहनुभएको घिमिरेले बताउनुभयो । 

साहित्यकार विजय चालिसेले व्यङ्ग्य साहित्यमा अर्याललाई कसैले अहिलेसम्म चुनौती दिन नसकेको दाबी गर्नुभयो ।  गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङले राष्ट्रकै गहना अर्यालको सम्मान गर्न पाउँदा नगरपालिका परिवार गौरवान्वित भएको बताउनुभयो । अर्थविद् डाक्टर रेवतबहादुर कार्कीले अर्यालको व्यङ्ग्य साहित्य उच्च कोटीको रहेको बताउनुभयो ।

स्थानीय पुण्यप्रसाद दाहालले अर्यालको प्रतिमालाई उहाँकै पुख्र्यौली थाकथलोमा राख्न पाउँदा गौरव लागेको बताउनुभयो । तत्कालीन जोरपाटी गाविसका अध्यक्ष तथा साहित्यकार गोपाल बरालले भैरव पुरस्कार गुठीले स्थापनाकालदेखि गर्दै आएको गतिविधिबारे प्रकाश पार्नुभयो ।

समाजसेवी अर्जुन गौतमको सभापतित्वमा भएको कार्यक्रममा अर्यालका ज्येष्ठ सुपुत्र प्रा।डा। दीपक अर्यालले यस्ता रचनात्मक कार्यमा परिवारजनको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।