• १२ असार २०८१, बुधबार

‘ओशो पार्क’ पर्यटकको रोजाइमा

blog

‘ओशो पार्क’आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै । तस्बिर : रासस

धरान, जेठ ४ गते । धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ । धरानको भानुचोकबाट करिब छ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । 

बुटवलबाट साथीहरुसँगै धरान घुम्न आउनुभएका सन्तोष खरेलले ओशो पार्क पुगेपछि चारैतिर फूलले ढाकेको, चारैतिर चौतारा देख्दा निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “आजभन्दा चार-पाँच वर्ष अगाडि यहाँ आउँदा चारैतिर जङ्गल, झाडी अनि खोला थियो । अहिले यस्तो राम्रो बनिसकेछ, फेरि पनि आउने छौँ ।”

उदयपुर गाईघाटका प्रविन राई बिहानै गाईघाटबाट गाडी चढेर घुम्नका लागि ओशो पार्क पुग्नुभएको थियो । उहाँले भन्नुभयो, “टिकटक र फेसबुकमा देखेर यहाँ पहिलो पटक आएको छु । श्रमदान र मेहनत गर्दा एउटा खोलामा पनि सुन्दर र रमणीय घुम्ने ठाउँ बनाउन सकिने रहेछ भन्ने एउटा उदाहरण बनेको छ ।” पहिले घुम्नका लागि भेडेटार धनकुटासम्म जाने गरेकामा अहिले यहाँस्थित पार्क नै आउने गरेको राईले बताउनुभयो । “स्थानीय स्तरमा यति सुन्दर घुम्ने ठाउँ बनिसक्यो, अब साथीभाइसँग घुम्न टाढा जानै नपर्ने भएको छ”, उहाँले भन्नुभयो ।

भानुचोकबाट करिब छ किमीमाथि निर्मित उक्त पार्क नजिकै श्रमदानबाट बनाइएका एसडिबी, रकगार्डेन, बिपीलगायत दर्जनौँ पार्क छन् । वरिपरिको हरियाली वातावरणमा ढकमक्क फूलले ढाकेको ठाउँ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक केन्द्र बनेको छ । पहिले उजाड र सुनसान जङ्गल जस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसायी पनि खुसी भएका छन् । अहिले यो पार्क आसपासमा दर्जनौँ होटल सञ्चालित छन् । दिनमा चारदेखि, पाँच सयसम्मको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका स्थानीय होटल व्यवसायी सुरज गुरुङको भनाइ छ । 

उहाँ नौ वर्ष वैदेशिक जीवन बिताएर फर्केपछि यहाँ एक दशकदेखि व्यापार गर्दै आउनुभएको छ । गुरुङका अनुसार यहाँ घुम्न आउनेले जैविक खानेकुराको स्वाद लिन पाउँछन् । विशेष गरी यहाँ तोङ्बा, सुकुटीलगायत स्थानीय सामग्रीबाट बनेका परिकार खान पाइने उहाँले बताउनुभयो । “धेरैजसो अहिले बिक्री हुने भनेको तोङ्बा, सुकुटी र चटपटे धेरै बिक्छ, एक पटक आएको मान्छे निराश भएर चाहिँ जानुहुन्न फेरि फर्केर आइरहन्छन्”, उहाँले भन्नुभयो । व्यवसायी टेकबहादुर राई र सविता राईले पनि लामो समयदेखि यहाँ व्यवसाय गर्दै आउनुभएको छ । उहाँहरले अहिले यो ठाउँ निकै परिवर्तन भएको बताउनुभयो । 

यहाँ धरान, इटहरी, मोरङ, झापालगायत विदेशबाट पनि पर्यटक घुम्न आउने गरेका स्थानीय होटल व्यवसायी टेकबहादुर राईको भनाइ छ । ओशो पार्कमा मनमोहक दृश्यावलोकनका लागि दैनिकजसो ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका धरान-१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताउनुभयो । “अरु दिनभन्दा सार्वजनिक बिदा तथा शनिबार अन्य समयभन्दा बढी पर्यटक यहाँ घुम्न आउने गर्छन्”, उहाँले भन्नुभयो, “अझ विस्तारै यस ठाउँमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै जाने विश्वास लिएका छौँ । पार्कलाई रमणीय र आकर्षित बनाउन भौतिक पूर्वाधारका काम भइरहेका छन् ।”

वडाध्यक्ष काफ्लेका अनुसार यो क्षेत्रमा घुम्न जाडोमाभन्दा गर्मी समयमा धेरै पर्यटक आउने गरेका छन् । “पर्यटकको थप आकर्षण बढाउनका लागि १३ नम्बर वडा कार्यालयले सात लाख सहयोग गरेको छ । ओशो पार्क क्षेत्रभित्रै फूलको बगैँचा, बालबालिकाका लागि खेल्ने ठाउँ, विभिन्न ढुङ्गाको डिजाइनबाट निर्माण गरिएका आकर्षक मूर्तिहरु राखिएका छन्”, उहाँले भन्नुभयो । सङ्घीय सांसद जयकुमार राईको सांसद क्षेत्र विकास कोषबाट छुट्याइएको २० लाखले ओशो (बिपी पार्क)को निर्माण गरिएको छ । 

साथै पूर्वसांसद कृष्णकुमार राईको सांसद कोषबाट १० लाखको सहयोगमा घिर्लिङको अवशेष जाने सिँढी निर्माण गरिएको थियो । आन्तरिक पर्यटकको मुख्य केन्द्रका रुपमा विकास गर्ने योजनाअनुसार पार्क निर्माण गरिएको सांसद जयकुमारले बताउनुभयो । “धरानमा घुम्न आउने पर्यटकका लागि घुम्ने स्थल बूढासुब्बा मन्दिर, दन्तकाली, विजयपुर पछिको ओशो पार्क, (बिपी पार्क) सँगै यस क्षेत्रमा दर्जनौँ पार्क बनिसकेकाले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको छ”, उहाँले भन्नुभयो, “यस पार्कलाई अझ एकीकृत गरेर साैन्दर्यकरण गर्नुपर्छ ।”

धरान-१३ फुस्रे चोकबाट ओशो पार्कसम्म पुग्ने बाटो पहिले कच्ची थियो । पछिल्लो समय प्रदेश सरकारको ४० लाख सहयोगमा एक किमी सडक कालोपत्र भएपछि यहाँ आउने पर्यटकलाई सहज भएको वडाध्यक्ष काफ्लेले बताउनुभयो । सरकारी निकाय तथा स्थानीयवासीको सहयोगमा निर्मित उक्त पार्क धरानकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विस्तार हुँदै गएको छ । यसलाई थप व्यवस्थित बनाउँदै पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य विजयकुमार राईले बताउनुभयो । यहाँका कतिपय सरकारको सहयोगमा बनेका पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको भन्दै सबैको सहयोग र समन्वयमा पर्यटकको आकर्षणको केन्द्र बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्नुपर्ने उहाँको भनाइ छ । रासस