राममणि दाहाल
हेटौँडा, जेठ ४ गते । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले संविधानको भावना अनुसार सङ्घीयता कार्यान्वयनमा ढिलाइ भएको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारको सहयोगमा हेटौँडा उपमहानगरपालिका १५ स्थित रातोमाटेमा निर्माण गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको समारोह व्यवस्थापन/प्रहरी बैन्ड शाखाको भवनको शुक्रबार उद्घाटन गर्नुहुँदै उहाँले प्रहरी समायोजन गरी सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भौतिक पूर्वाधारलगायतका समस्यामा बिच नेपाल प्रहरी शान्ति सुरक्षा, अपराध अनुसन्धान, नियन्त्रणलगायतका काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै प्रहरी बैण्डलाई थप सुविधासम्पन्न बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
उहाँले प्रहरीले प्रयोग गर्ने कतिपय संरचनाको अवस्था अझै दयनीय रहेको भन्दै प्रहरीले सेवा प्रवाहका क्रममा सकारात्मक विभेदको नीति अपनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले सीमित साधन र स्रोतका बिच प्रहरीले शान्ति सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी र नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख प्रहरी उपरीक्षक चित्रबहादुर गुरुङ आफ्नो धारणा राख्नुभएको थियो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा भौतिक पूर्वाधार शाखाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्जिनियर शम्भुप्रसाद कोइरीले भवन निर्माणसम्बन्धी प्रतिवेदन पेस गर्दै नवनिर्मित भवन तीन करोड ७१ लख ७८ हजार ३४३ रुपियाँको लागतमा निर्माण भएको जानकारी दिनुभयो । कार्यालय भवन, ब्यारेक, भान्सालगायतका संरचना निर्माण भएको छ ।