चरीकोट समाचारदाता
चरीकोट, जेठ ४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले दुर्घटना न्यूनीकरण गर्न विद्यालयमा विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । ट्राफिक प्रहरीले विभिन्न विद्यालयमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेको हो । जिल्लामा सडक दुर्घटनाका घटना वृद्धि हुन थालेपछि विद्यालयस्तरबाटै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताउनुभयो ।
कार्यक्रम अन्तर्गत तामाकोशी गाउँपालिकाका दुई वटा विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको उहाँले बताउनुभयो । तामाकोशी गाउँपालिका–३ मा रहेको सीतापाइला माध्यमिक विद्यालय र सोही गाउँपालिका–४ मा रहेको गोल्मेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमलगायतका सचेतना प्रशिक्षण दिइएको भट्टराईले बताउनुभयो । सहरी क्षेत्रका विद्यालयका विद्यार्थीले व्यस्त सडक र राजमार्गसमेत पार गरेर आवागमन गर्नुपर्ने अवस्था रहेकाले ‘विद्यार्थीसँग ट्राफिक प्रहरी’ कार्यक्रमले उनीहरूलाई दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने प्रहरीको अपेक्षा छ ।
प्रशिक्षण कार्यक्रममा विद्यार्थीलाई सवारीसाधन चलाउँदा आवश्यक कागजात साथमा लिएर हिँड्नुपर्ने, नियम पालना गर्नुपर्ने, सवारी चलाउँदा ध्यान दिनुपर्नेलगायतका चेतनामूलक विषयको प्रशिक्षण दिइएको र परिवार र समुदायमा पनि सचेतना जगाउन अनुरोध गरिएको प्रहरीले जनाएको छ ।