काठमाडौँ, जेठ ३ गते । अरहान्त केशर सिंह र अमिर ब्लोन बिहीबार एनएसआरए राष्ट्रिय र्याङकिङ स्क्वास प्रतियोगिताको फाइनलमा प्रवेश गर्नुभएको छ । नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको महिला एकलमा बिपना ब्लोन र स्वस्थानी श्रेष्ठ उपाधि भिडन्तमा पुग्नुभयो ।
सातदोबाटोस्थित स्क्वास हलमा भएको पहिलो सेमिफाइनलमा बिपनाले चिरपरिचित प्रतिद्वन्द्वी कृष्णा थापालाई चार सेटमा ११–३, ९–११, ११–५, ११–६ ले हराउनुभयो । अर्को सेमिफाइनलमा लिग चरणमा शीर्ष स्थानमा रहेर नकआउटमा पुगेकी स्वस्थानीले अस्मिता नगरकाटीको चुनौती सजिलै ११–७, ११–२, ११–२ ले समाप्त पार्नुभयो ।
यसअघि, पुरुष एकल सेमिफाइनलमा अरहान्तले पासाङ ब्लोनलाई सीधा सेटमा ११–६, ११–६, ११–५ तथा अमिरले दीपक थापालाई चार सेथमा १४–१२, ४–११, ११–९, ११–९ ले पराजित गर्नुभयो ।
हरेक वर्ष वरीयता छुटाउन भइरहेको यस प्रतियोगिताको समापन शुक्रबार हुनेछ । यस प्रतियोगिताबाट प्राप्त वरीयता २०८१ सालको चैत महिनासम्म रहने सङ्घले जनाएको छ ।