काठमाडौँ, जेठ ३ गते । नवौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप जी– ४० २०२४ मा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ प्रस्थान गरेको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिहीबार एक कार्यक्रमबिच बिदाइ गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले उच्च प्रदर्शनका लागि खेलाडीलाई शुभकामना दिँदै तेक्वान्दोको विदेशकी प्रशिक्षक झिकाउने विषयमा तेक्वान्दो सङ्घले चाँडो प्रक्रिया पूरा गर्नु पर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा पलेसा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । टोलीको प्रशिक्षकमा कविराज नेगी लामा रहनुभएको छ । प्रतियोगितामा ३१ राष्ट्रिका खेलाडी सहभागी हुने बताइएको छ
पलेशाले छनोट चरण पार गरेर पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरिसक्नुभएको छ । छनोट चरण पार गरेर पारालिम्पिकमा सहभागिता पक्का गर्ने पलेशाले पहिलो र एक मात्र खेलाडी हुनुहुन्छ । पलेशाले चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट हुनुभएको थियो ।
पलेसा चौथो एसियाली पारा खेलकुदको कांस्य पदक विजेता पनि हुनुहुन्छ । पलेशाले सन् २०२१ मा बहराइनमा भएको यूथ एसियन गेम्समा स्वर्ण पदक र सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जित्नुभएको थियो । नेपाल तेक्वान्दो सङ्घले पेरिस पारालिम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामा जानकारी गराउनुभयो ।
एसियन च्याम्पियनसिपबाट ¥याङकिङमा आउन र ¥याङकिङमा सुधार गर्न मद्दत पुग्ने भएको हुँदा अमिर र भरतलाई सहभागी गराइएको हो । प्रशिक्षकको भूमिकामा रहनुभएका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
उहाँले प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन् । बिदाईका अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भानबहादुर चन्द, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार लामा घिसिङलगायतको उपस्थिति रहेको थियो ।