काठमाडौं, जेठ ३ गते। टुँडिखेलमा जारी ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिको तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ। काठमाडौँ महानगरले सञ्चालन गरेको उक्त मेलाको पहिलो चरणमा एक हजार ५०५ जनाले तालिम लिएका छन्।
१५ दिनको अवधिका लागि एक हजार ५७७ जनाको लागि कोटा छुट्याइएको थियो। छुट्याइएको कोटा भन्दा केही कम व्यक्तिले तालिम लिएका छन्।
शुक्रबार सम्पन्न हुने तालिमका प्रशिक्षार्थीको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण अहिले जारी रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
अभिमुखीकरण अन्तर्गत बिहीबार ६४६ जनालाई कार्यक्रममा सहभागी गराइएको छ। दोस्रो चरणको तालिम आगामी जेठ ६ गतेबाट सञ्चालन हुनेछ।
जसको लागि एक हजार १३५ जनाको कोटा रहेको छ। जसका लागि एक हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन आग्रह गरिएको महानगरले जनाएको छ।
सिप मेलामा विभिन्न १२ वटा क्षेत्रमा झन्डै ४० पेसागत तालिम उपलब्ध छ। हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, अटो मोबाइल, निर्माण क्षेत्र, सूचना प्रविधि, मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियन, आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चर, गार्मेन्ट्स, ब्युटिसियन, डिजाइनिङ, पुरोहित विषयसमेत समेटिएको छ।
सहभागीले आफ्नो इच्छाअनुसार जुनसुकै तालिम लिन पाउँछन्। महानगरले आयोजना गरेको निःशुल्क तालिममा विद्यार्थी, गृहिणीदेखि वर्षौँ विदेश बसेर स्वदेश फर्किएका व्यक्तिसमेत सहभागी हुनेगरेका छन्।
तस्बिर : अनिल पराजुली