बेलबारी (मोरङ), जेठ ३ गते । दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका-११ का शमशेरबहादुर कटुवाल घर फर्किनुभएको छ । स्थानीय तहको सक्रियतामा उहाँलाई घर फर्काइएको हो ।
शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ । बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उहाँको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट वि.सं.२०६१ मा बेपत्ता हुनुभएको थियो । “श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइनँ, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो”, शमशेरबहादुरकी श्रीमती सीताले भन्नुभयो ।
शमशेरबहादुर र सीताको वि.सं.२०५० मा विवाह भएको थियो । दुवै जनाबाट छ सन्तान जन्मिए । “कान्छो छोरो १० महिनाको हुँदा श्रीमान बेपत्ता हुनुभयो, म एक्लैले छ सन्तान हुर्काएँ”, सीताले भन्नुभयो । यसबिचमा परिवारको साथ नपाएपछि उहाँ माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आउनुभएको छ । शमशेरबहादुर बोल्न सक्नुहुन्न । उहाँ घाँटीको क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । आर्थिक अवस्था कमजोर भएकाले उहाँको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ ।
कटुवालको उपचार गराउन सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउनुहुन्छ । बिरामी भएपछि कटुवाल सम्पर्कमा आउनुभएको हो । धेरै मेहनतपछि उहाँलाई घर फिर्ता ल्याउन सकिएको वडा अध्यक्ष विक्रम राईले बताउनुभयो । “कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो । रासस