• १२ साउन २०८१, शनिबार

जलवायु समस्यालाई विश्वव्यापी एजेण्डा बनाउनुपर्छ : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सञ्चारिका समूह नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : मन्त्री शर्माको सचिवालय

काठमाडौं, जेठ ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनको असरबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वव्यापी एजेण्डा बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सञ्चारीका समूहले नेपाली सञ्चारमाध्यममा वातावरण संरक्षणका विषय कसरी उठाउन सकिन्छ र यसको महिलासँग कस्तो अन्तरसम्बन्ध रहन्छ भन्ने विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

‘‘जलवायु परिवर्तन ठुलो चुनौतीको रूपमा देखा परेको छ । यसले हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर पार्दै गएको छ । नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिमयुक्त देश हो । हिमनदीहरू बर्सेनि खुम्चिँदै गएको र हिमताल फुटेर बाढी आउने सम्भावना बढ्दै गएको देखिन्छ ’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टि हुँदा प्राकृतिक विपद्का घटना बर्सेनि बढ्दै गएका छन्, जसबाट जनधनको क्षति पनि बढिरहेको छ । यो अवस्थामाप्रति सबै पक्ष गम्भीर र संवेदनशील हुने बेला आएको छ ।’’

नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको सङ्कटका कारण नेपालले मात्र होइन, यहाँबाट उत्पत्ति हुने पानीको स्रोतमा आधारित तल्लो तटीय क्षेत्रका करोडौँ मानिसका लागि चुनौती थपिएको उल्लेख गर्नुहुँदै उहाँले नेपालमा जलवायु परिवर्तनले ल्याउने सङ्कटको पहिलो मार नेपालले खेप्नु परे पनि यो सिङ्गो तटीय क्षेत्रको साझा समस्या हो भन्ने तथ्यलाई स्थापित गरेर यसविरुद्धको लडाइँलाई विश्वव्यापी एजेण्डाकै रूपमा स्थापित गर्न नेपालसहित विश्वभरिका सञ्चारमाध्यमहरूले भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसका लागि नेपाल सरकारले विश्व समुदायसँग निरन्तर आह्वान गर्दै आएको र गत मङ्सिरमा युएईको दुबईमा भएको संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्बन्धी २८ औँ सम्मेलनमा भाग लिएर प्रधानमन्त्रीले नेपालको चासो र चिन्ता विश्व समुदायसमक्ष हकदाबीकै रूपमा प्रस्तुत पनि उहाँले स्मरण गराउनुभयो ।

‘‘जलवायु परिवर्तनका लागि कार्बन उत्पादनमा नेपालको योगदान छैन तर अन्य मुलुकहरूले गरेको कार्बन उत्सर्जनका कारणले गर्दा जलवायु परिवर्तनको समस्याबाट सबैभन्दा बढी पीडित नेपाल बन्नुपरिरहेको छ ।,’’ मन्त्री शर्माले भन्नुभयो, ‘‘अन्य औद्योगिक मुलुकका कारण सिर्जित समस्याबाट हामीले पीडा भोग्ने र त्यसको कुनै क्षतिपूर्ति नपाउने अवस्थाको अन्त्य हुनुपर्छ भनेर नेपाले विश्व मञ्चमा दृढतापूर्वक आवाज उठाएको छ ।’’

जलवायु परिवर्तनका प्रतिकूल असरहरूबाट बच्न तथा त्यसको सामना गर्न स्थापना गरिएका विभिन्न कोषबाट नेपाललगायत कम विकसित मुलुकहरूले लाभ पाउनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले थप्नुभयो, ‘‘यो हाम्रो याचना होइन, न्यायसङ्गत हक दाबी हो भनेर सरकारले प्रष्टताका साथ अघि सारेको छ। अब हामीले आर्थिक कूटनीतिमा जलवायु कूटनीतिलाई महत्त्वपूर्ण अङ्गको रूपमा स्थापित गरेर लैजानुपर्ने छ, त्यसका लागि आवश्यक वातावरण बनाउन पनि सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहनेछ ।’’

जलवायु परिवर्तनले सिर्जना गरेका सङ्कटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यहरुले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उल्लेख गर्नुहुँदै उहाँले विपद् पूर्वका सूचना प्रवाह गर्नेदेखि जोखिम विश्लेषण लगायतका कार्यमा सञ्चारमाध्यमहरूले भूमिका बढाउनुपर्ने बेला आएको छ । जोखिमको ज्ञान र जोखिमको अनुगमन तथा तथ्याङ्क विश्लेषण, जोखिमको सूचना प्रवाह, क्षमता अभिवृद्धि र प्रतिकार्यमा केन्द्रित भएर आम नागरिकलाई सचेत बनाउने कार्यमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

यसका लागि सञ्चारमाध्यमहरूलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले सरकारले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरेको र यसकै आधारमा रहेर हामीले समग्र प्रचारप्रसारको नीति र आवश्यक संयन्त्र बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । जलवायु परिवर्तनले सिर्जना गर्ने सामाजिक विभेदलाई न्यून गर्न पनि आम सञ्चार क्षेत्रको ध्यान जाने विश्वास व्यक्त गर्नुभयो ।