• १२ साउन २०८१, शनिबार

छालाको समस्यालाई हेलचेक्राइँ नगरौँ

blog

काठमाडौं, जेठ ३ गते । गर्मी सुरु भएसँगै छालामा विभिन्न समस्या देखिन्छन् । छालारोग विशेषज्ञ डा.प्रज्वल पुडासैनीले घाम र प्रदूषणले छाला चिलाउने, पोल्ने, पोतो निस्कने, एलर्जी, खटिरा, डन्डिफोर जस्ता समस्या निस्कने बताउनुहुन्छ ।  

उहाँ भन्नहुन्छ, ‘घाम र प्रदूषणले गर्दा छाला चिलाउने, पोल्ने, एलर्जी हुने, बिमिरा आउने, जस्ता समस्या निम्तिन्छन् । यस्ता समस्यालाई हेलचेक्राइँ गर्दा बिमिरा फुटेर घाउ हुने, खत बस्ने जस्ता समस्या निम्तिने गर्दछन् ।’ 

घामको किरणले चिलाउने, पोल्ने, कालाे पोतो, डण्डीफोरका रूपमा आएर समस्या बढाउने उहाँको भनाइ छ । साथै गर्मीमा पसिना बढी आउने हुँदा पसिनाले डण्डीफोर बढाउने सम्भावना बढी हुन्छ । 

उहाँ भन्नुहुन्छ, ‘गर्मीमा पसिना आउने हुँदा पसिना र ब्याक्टेरिया सङ्क्रमणले डण्डीफोर बढ्ने गर्छ । रौँको जरामा पसिना र  कीटाणुको मिश्रणले गर्दा इन्फेक्सन भई चिलाउने र दुःखाइ महसुस हुन्छ ।’ 

गर्मीमा ढुसीले छालामा सङ्क्रमण गराउने हुँदा चिलाउने, दुख्ने समस्या देखिने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार गर्मीमा बढी नुहाउँदा,पौडी खेल्दा छाला सुख्खा हुने, फुस्रो हुने हुँदा चिलाउने समस्या उत्पन्न हुन्छ ।  किरा, विषाक्त बोटविरुवाको कारणले गर्दा छालामा सङ्क्रमण भई चिलाउने पोल्ने जस्ता समस्या देखिन्छ । 

गर्मीमा घमौराले चिडचिड हुने, पोल्ने र  चर्को घाममा धेरै बस्दा दाग बस्ने, घाउ खटिरा बढ्ने गर्दछन्  । बालबालिकामा, घाम, पानीमा काम गर्ने मानिसमा  यस्तो समस्या बढी देखिन्छ । लुगाले नछोप्ने भागमा धेरै प्रभावित हुने उहाँको भनाइ छ । 

 छालामा देखिने यस्ता समस्यालाई सामान्य रुपमा लिने गर्दछन् । यस्ता समस्यालाई लापरबाही गर्दा स्वास्थ्यमा गम्भीर समस्या निम्तिने डा.पुडासैनीको भनाइ छ । 

 उहाँ भन्नुहुन्छ, ‘छाला शरीरको ऐना हो । शरीरमा कुनै पनि समस्या वा दीर्घरोग लागेको छालामा देखिएमा समस्याबाट पत्ता लगाउन सकिन्छ । त्यसैले छालाको समस्यालाई हेलचेक्राइँ नगरौँ ।’ छालामा  निको नहुने फोका,बिमिरा, घाउ आएमा तुरुन्त चिकित्सकको परामर्श गर्न उहाँको सुझाव छ । 

गर्मीमा छालामा समस्याबाट छुटकारा पाउन सरसफाइमा ध्यान दिन उहाँको सुझाव छ ।  गर्मीमा पसिना धेरै बग्ने र वायुमण्डलमा धुँवाधुलोले फैलिने भएकाले छालामा सुक्खापन हुन्छ र चिलाउने भएकाले बेलाबेलामा तेल वा म्वाचराइजिङ क्रिमको प्रयोग गर्न उहाँको सुझाव छ । 

 छाला घाम र प्रदूषणबाट जोगाउन घाममा निस्किँदा सनब्लक क्रिमको प्रयोग गर्ने । उहाँका अनुसार सनब्लक क्रिमको प्रयोग गर्दा छालरोग विशेषज्ञको परामर्शमा मात्र गर्नु राम्रो हुन्छ । 

 त्यसैगरी, घर बाहिर निस्किँदा छाताको प्रयोग गर्ने, अनुहार छोपिने टोपी वा मास्कको प्रयोग गर्ने, पूरै शरीर ढाक्ने गरी कपडा लगाउने, प्रशस्त पानी पिउने, सुतीको कपडा पूरै शरीर ढाक्ने गरी लगाउन उहाँकाे सुझाव छ । घाम र प्रदूषणले समस्या निम्त्याएमा चिकित्सकको सल्लाहमा औषधिको प्रयोग गर्न उहाँको अनुरोध छ । 

गर्मीमा छालामा देखिने समस्याबाट सुरक्षित कसरी रहने भन्ने विषयमा केन्द्रित भई छालारोग विशेषज्ञ डा.प्रज्वल पुडासैनी गरिएको भिडियो संवाद:


भिडियो: केशब गुरुङ


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।